च्याम्पियन्स लिगको ड्र आज, यस सिजनमा को को खेल्दैछन् ?

  • प्रकाशित मिति : २०८० भाद्र १४, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । यस सिजनको युइएफए च्याम्पियन्स लिगको समुह चरणको ड्र आज हुन लागेको छ ।

युरोपियन फुटबल फेडेरेसनले आज फ्रान्सको मोनाकोमा हुने एक कार्यक्रममा च्याम्पियन्स लिगको समुह चरणको ड्र हुने बताएको छ ।



च्याम्पियन्स लिगमा युरोपका विभिन्न लिगबाट कुल ३२ क्लबले भाग लिने गर्दछन् । युइएफएका अनुसार च्याम्पियन्स लिगमा युरोपका रसिया बाहेका शिर्ष १२ लिगका लिग विजेता, शिर्ष ६ लिगका उपविजेता, शिर्ष ४ लिगका तेस्रो र चौथो हुने क्लबले च्याम्पियन्स लिगमा खेल्न छनौट हुने गर्दछन् । त्यस्तै गत सिजनको युरोपा लिगको च्याम्पियन क्लब यस सिजनमा सिधै छनौट हुने गर्दछ ।

त्यसैगरी प्लेअफ राउण्डको च्याम्पियन्स पथका ४ विजेता क्लब र लिग पथका २ क्लब च्याम्पियन्स लिगको समुह चरणमा छनौट हुने गर्दछन् ।
यसरी यस सिजनमा स्पेनबाट पाँच क्लब च्याम्पियन्स लिग खेल्दै छन् । जसमा सेभिया, बार्सिलोना, रियल म्याड्रिड, एटलेतिको म्याड्रिड र रियल सोसियडाड रहेका छन् ।

त्यस्तै प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, आर्सनल, न्यूक्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेड रहेका छन् ।

त्यस्तै इटालियन सिरी ए बाट नापोली, इन्टर मिलान, एसी मिलान र लाजियो यस सिजनको च्याम्पियन्स लिग खेल्दै छन् ।

त्यसैगरी जर्मनी बुण्डेसलिगाबाट बायर्न म्युनिख, बोरुसिया डोर्टमण्ड, आरबी लेइपजिंग र युनियन बर्लिन खेल्दै छन् ।

त्यस्तै फ्रान्सका पिएसजी र लेन्स खेल्दै छन् भने पोर्चुगलको लिगबाट बेनिफिका, ब्रागा र पोर्टो एफसी, नेदरल्याण्डसको लिगबाट फेयेनोर्ड र पीएसभही इन्डहोभेन च्याम्पियन्स लिग खेल्दै छन् ।

त्यसैगरी युक्रेनबाट शख्तर डोनेटास्क, अस्ट्रियाबाट रेड बुल साल्जबर्ग, सर्बियाबाट रेड स्टार बेलग्रेड, डेनमार्कबाट कोपनहेगन, स्वीजरल्याण्डबाट योंग ब्वाइज, टर्कीको लिगबाट गालाटासारे, स्कटल्याण्डबाट सेल्टिक र बेल्जियमबाट एन्टवेर्प क्लब रहेका छन् ।