विश्वकप छनोटः भुटानलाई हराउँदै नेपालले दर्ता गर्‍यो तेस्रो जित

  • प्रकाशित मिति : २०८० भाद्र १७, आईतवार
  • nepaltale.com

मलेसियामा जारी आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपालले भुटानलाई ३ विकेटले पराजित गरेको हो । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन तथा दोस्रो खेलमा बहराइनलाई १० विकेटले पराजित गरेको थियो ।

आइतबारको खेलमा ४० रनको लक्ष्य नेपालले १३ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कविता जोशीले ९ रन बनाउँदा कप्तान रुविना क्षेत्रीले १२ रन तथा सीता राना मगर ८ रन जोडे । पूजा महतो ३ रनमा आउट भइन् ।

अश्मिना कर्मचार्य, इन्दु वर्मा, सम्झना कुमारी खड्का र कविता कुँवर भने शून्य रनमै आउट भए ।

भुटानका लागि अन्जुली घलेले सर्वाधिक ३ तथा छिरिङ जाङ्मोले २, अन्जु गुरुङ र सोनामले १-१ विकेट हात पारे ।

यअघि टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ३९ रन जोड्यो । भुटानका लागि डेचेन वाङ्ग्मोले सर्वाधिक २१ रन जोडिन् ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३ तथा खुसी डंगोल, कप्तान रुविना क्षेत्री र कविता कुँवरले एक-एक विकेट लिए ।