अरुलाई उपदेश दिएर नथाक्ने रवि लामिछानेको लकडाउन उल्लंघन गर्ने यस्तो भोज

  • प्रकाशित मिति : २०७७ बैशाख ३१, बुधबार
  • nepaltale.com

सरकार र आफूबाहेकका सबैलाई अर्ती, उपदेश दिएर कहिल्यै नथाक्ने रवि लामिछाने आफू स्वयंले भने लकडाउन उल्लंघन गर्दै भोजभतेर गरेको फोटो र भिडियो सार्वजनिक भएको छ । काठमाडौँमा १ र भक्तपुरमा २ जनामा कोरोना संक्रमणको पुष्टि भएपछि उपत्यकामा पनि कोरोनाको त्रास बढिरहेको अवस्थामा रवि लामिछानेको यो भोजलाई ‘जो जान्ने उही भनेको नमान्ने’को रुपमा हेरिएको छ ।

जेठ ५ गतेसम्मको लागि देशमा लकडाउन घोषणा गरिएको छ र अत्यावश्यक काममा मात्रै निस्किन पाउने गरी सरकारले पासको व्यवस्था गरेको छ । तर रवि लामिछाने र अन्य केही चर्चित कलाकारहरुले भने पासको पनि दुरुपयोग गर्दै भोजको आयोजना गर्ने र सहभागी बन्ने गैरजिम्मेवार क्रियाकलाप देखिएको छ ।

सामाजिक सञ्जालमा पोष्ट भएको एक भिडियोले देशका चर्चित फिल्मकर्मीहरु तथा सञ्चारकर्मी रवि लामिछानेले सरकारको आदेशलाई गम्भीर ढंगले नलिएको र गैरजिम्मेवारीपनको नमूना देखाएको छ । भिडियोमा लकडाउनमा एकै ठाउँ जम्मा भएर रवि लगायतका कलाकारहरु पार्टी गरिरहेको देख्न सकिन्छ । उक्त पार्टीमा रवि लामिछानेको साथमा उनकी पत्नी निकिता पौडेल, कलाकारहरु दीपकराज गिरि, दीपाश्री निरौला, पूजा शर्मा, किरण केसी, अनुराग कुँवर, फिल्मी पत्रकार उत्सव रसाइली लगायतको उपस्थिति रहेको देखिन्छ । उनीहरु लालमोहन बनाउँदै रमाइलो गर्दै पार्टी गरिरहेका छन् । उक्त जमघट कलाकार अनुराग कुँवरको घरमा भएको बताइएको छ ।

केही समयअघि ‘सिधा कुरा जनतासँग’मा रवि लामिछानेले ‘घरमै भएको एक थोक तरकारीमा ऐना हेर्न मिल्नेगरी तुरुङ्ग झोल हालेर खाउँ तर बाहिर नजाऔं’ भन्दै उपदेश दिएका थिए । रविले ‘बाँच्नु भएछ भने खसीको मासुको पक्कु, लोकल कुखुराको रातो झोल, सात पत्रे बँदेल, टिमुरको छोपसँग चोपेर, माछा फ्राई गरेर, गोलभेडाको अचार, बासमती चामल, अकबरे खुर्सानी टोक्दै सात थाल थपी थपी खानुहोला’ पनि भनेका थिए । यो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल नै भएको थियो भने टिकटक प्रयोगकर्ताहरूले पनि यसमा सयौंको संख्यामा टिकटक भिडियो बनाएका थिए । तर अहिलेको रविसमेत सहभागी भएको सो भिडियोले सञ्चारकर्मी र अभियानकर्मीका रुपमा परिचित लामिछानेजस्ता व्यक्तिमाथि नैतिक प्रश्न खडा गरेको छ ।

अरुको गल्तीलाई चर्को चर्को स्वर बनाएर उपदेश दिने रविले यो त्रुटि किन गरे ? यसमा उनले आफ्नो सामाजिक उत्तरदायित्व भुलेको स्पष्ट हुन्छ । जनताले एक हिसाबले उनलाई नायक नै मानेर दिएको इज्जतको सम्मान के हो भन्ने प्रश्न स्वभाविक रुपमा उठाएको छ । मुलुकका सेलेब्रेटी बनेका व्यक्तित्वहरुले समाजलाई सकारात्मक सन्देश दिनुको सट्टा रविसँगै रहेका फिल्मी कलाकारहरू नैतिक र सामाजिक उत्तरदायित्व बिर्सेको प्रष्ट हुन्छ । उनीहरुले आफ्नो सामाजिक छविलाई पनि चटक्कै बेवास्ता गरेको देखिन्छ ।

भिडियोमा ‘अत्यावश्यक’ काम भएर भेला भएको जस्तो देखिँदैन । के काम र के उद्देश्यले प्रदान गरिएको पासको समेत दुरुपयोग भएको देख्न सकिन्छ । लकडाउनका कारण कैयौं मानिसको दैनिक रोजीरोटी खोसिएको र राहतको मुख ताक्न बाध्य भएको संकटकालीन अवस्थामा आएको यो मिष्ठान्न भोजनको भिडियोले बिहान बेलुका हातमुख जोर्न धौ धौ पर्नेहरुलाई के सन्देश दिएको होला ? हुनेखानेका लागि लकडाउन रमाइलो र नहुनेका लागि कहर बनेको परिस्थितिमा सेलेब्रेटीहरुको यस्तो हरकतले आमजनतामा के सन्देश दिएको होला ?