कोरोना संक्रमित व्यक्ति आइसोलेसनबाट भागेमा आवश्यक बल प्रयोग गर्न तथा गोली समेत हान्न जिल्ला प्रशासन कार्यालय पर्साले आदेश दिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको बिहीबार बसेको बैठकले कोरोना संक्रमित व्यक्ति भागेमा गोली समेत हान्न सक्ने सुरक्षा निकायलाई अधिकार प्रदान गरेको हो ।
बुधबार नारायणी अस्पतालबाट दुईजना कोरोना संक्रमित फरार भएका थिए । शौचालय गएका उनीहरु शौचालयको भेन्टिलेटर फोरेर भागेका थिए । उनीहरुलाई प्रहरीले बुधबार साँझ नै नियन्त्रणमा लिएको थियो ।
उक्त घटनापछि प्रशासनले संक्रमित व्यक्ति भागेमा आवश्यक बल प्रयोग गरेर अर्थात गोली नै हानेर भए पनि नियन्त्रणमा लिन आदेश दिएको हो । त्यस्तै बिहीबार बसेको प्रशासनको बैठकले अन्य विभिन्न निर्णयहरु पनि गरेको छ । प्रशासनबाट बिहीबारअघि जारी भएका सबै इ-पास समेत खारेज गर्ने निर्णय गरेको छ ।