छुट्टाछुट्टै स्थानमा पाँचजना मृत अवस्थामा फेला

  • प्रकाशित मिति : २०८० मंसिर १७, आईतवार
  • nepaltale.com

भक्तपुर जिल्ला मध्यपुर थिमी नगरपालिका-९ बोडेस्थित प्रयोगमा नरहेको सार्वजनिक शौचालयको पेटीमा दोलखा काटाकुटी गाउँपालिका-२ घर भएका ४१ वर्षीय निमा लामा आज मृत अवस्थामा फेला परेका छन् । उनी बोडे क्षेत्रमा मजदुरी काम गर्दै उक्त पेटीमा बस्दै आएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी दाङ जिल्ला घोराही उपमहानगरपालिका-१७ स्थित सिस्ने खोलामा सोही उपमहानगरपालिका-१७ घनिबगिया बस्ने ६० वर्षीय हिरालाल चौधरी आजै मृत अवस्थामा फेला परेको जनाइएको छ ।

कञ्चनपुर जिल्ला बेल्डाँडी गाउँपालिका-१ नवज्योती टोल बस्ने ४७ वर्षीया रुपा सुनार आफ्नै घरमा आज मृत अवस्थामा फेला परेको पनि प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ललितपुर जिल्ला ललितपुर महानगपालिका-२५ भैँसेपाटी ओकाथली डेरा गरी बस्ने झापा घर भएकी ४० वर्षीया एलिना राई आफू बस्ने कोठाको बाहिर पट्टिको शौचालयमा मृत अवस्थामा फेला परेकी छन् ।

झापा जिल्ला गौरादह नगरपालिका-४ डोरामारी बस्ने ७५ वर्षीय जयप्रसाद सङ्ग्रौला गौरादह नगरपालिका-४ र गौरदह नगरपालिका-६ को सिमानामा पर्ने दामुना खोलामा आजै मृत अवस्थामा फेला परेका छन् । यी सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।