‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय प्रिमियर जर्मनीमा

  • प्रकाशित मिति : २०७७ जेष्ठ २, शुक्रबार
  • nepaltale.com

नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’ को अन्तर्राष्ट्रिय प्रिमिय हुँदैछ। बुधबारदेखि जर्मनीमा सुरू ‘इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहउसेन’ मा फिल्म सार्वजनिक प्रदर्शनमा आउन लागेकाे हाे।

विश्वकाे प्रतिष्ठित र पुरानाे मानिने महोत्सवको याे ६६ औं संस्करण हाे। विश्वभरका ६५ सयभन्दा बढी फिल्महरूबाट एक सय फिल्म छनौट हुँदा नेपालबाट केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ छानिएको थियो। हालै मात्र फिल्मले अमेरिकाको लस एन्जेल्स इन्टरनेशनल फिल्म फेस्टिभलको ‘इन्डि सर्ट फेस्ट’ मा ‘बेस्ट चिल्ड्रेन सर्’ अवार्ड पाएको थियो।

‘जुनुको जुत्ता’ अन्तर्राष्ट्रिय प्रतिष्पर्धाको ‘चिल्ड्रेन्स एण्ड युथ फिल्म कम्पिटिशन’ विधाअन्तर्गत मे १६ मा प्रिमियर हुन लागेको हो। सन् १९५४ देखि जर्मनीमा आयोजना हुँदै आएको फिल्म फेस्टिभल ओवरहउसेन यस पटक कोरोना प्रभावका कारण अनलाइन संस्करण आयोजना भएको छ।

‘जुनुको जुत्ता’ जुत्ता-चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना वरिपरिका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ।

नेपालका फिल्म फेस्टिभलहरूमा पनि अवार्ड लिएको ‘जुनुको जुत्ता’ अन्य थुपै अन्तर्राष्ट्रिय महोत्सवहरूमा छनौट भइसकेको छ।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई यशु श्रेष्ठको कथाबाट प्रभावित भएर निर्देशक श्रेष्ठ स्वयंले लेखेका हुन्। विभु पौडेल प्रोड्युसर रहेको फिल्ममा सरून मानन्धरको सिनेमाटोग्राफी र विप्लपराज पोखरेलकाे सम्पादन छ।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ।