कमेडी च्याम्पियनको तेस्रो सिजन आजदेखि, थपिंदैछ ‘सुपर्ब थर्टी’ राउण्ड

  • प्रकाशित मिति : २०८० फाल्गुन ३, बिहीबार
  • nepaltale.com

काठमाडौं । हास्य रियालिटी शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजन बिहीबारदेखि सुरु हुँदैछ । जजमध्येका एक प्रदीप भट्टराईले पोस्टर सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।

उनका अनुसार यो शो कान्तिपुर टेलिभिजनमा हरेक साता बिहीबार र शुक्रबार राति प्रसारण हुने गर्छ । प्रसारणको सुरुका तीन एपिसोडमा फिजिकल अडिसन, त्यसपछि सुपर्ब ३०, त्यसपछि २४ राउण्ड हुँदै अन्तिम १५ को प्रतिस्पर्धा हुने जनाइएको छ । छनोट १० जनाले फिनालेका लागि प्रतिस्पर्धा गर्नेछन् ।

जज प्रदीप भट्टराईका अनुसार तेस्रो सिजनमा सुपर्ब ३० नामक राउण्ड थप गरिएको छ । निर्णायकअघि प्रस्तुति दिंदा कमजोर देखिएका र तर राम्रो सम्भावना भएका प्रतिस्पर्धीका लागि यो राउण्ड थप गरिएको उनले जानकारी दिए ।

यो शोमा प्रदीपसहित सन्तोष पन्त, मनोज गजुरेल र ऋचा शर्मा जजको रुपमा हुनेछन् । शोको होस्टमा रीमा विश्वकर्मा र मेक्सम गौडेल हुनेछन् । कमेडी च्याम्पियन सिजन-१ का विजेता हिमेश पन्त हुन् भने दोस्रो सिजन भरतमणि पौडेलले जितेका थिए ।