शर्मिला श्रेष्ठसहित ६ जनाविरूद्ध कृष्ण कँडेलले दिए गाली बेइज्जतीको मुद्दा

  • प्रकाशित मिति : २०८० फाल्गुन ४, शुक्रबार
  • nepaltale.com

काठमाडौं । ईन्द्रेणीका संचालक कृष्ण कँडेलले शर्मिला श्रेष्ठसहित जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जतीको मुद्दा दर्ता गरेका छन् ।

शुक्रबार उनले श्रेष्ठसहित जीवन टण्डन, कविता लामा, पूर्णप्रसाद कँडेल, खगेन्द्र विक, लक्ष्मीप्रसाद घिमिरेलाई विपक्षी बनाई गाली बेइज्जतीको मुद्दा दर्ता गराएका हुन् ।

इन्द्रेणीबाट अघोषित निष्कासनमा परेका पाँच जना कलाकारले फेसबुक लाइभमा आएर सञ्चालक कृष्ण कँडेलविरुद्ध विभिन्न आरोप लगाएका थिए । शर्मिला श्रेष्ठलगायतका कलाकार संयुक्तरूपमा लाइभमा आएर उनीहरूले पुसदेखि आफूहरूलाई कार्यक्रममा नबोलाइएको बताएका थिए ।

पूर्ण कँडेल र लक्ष्मी घिमिरेले आफूमाथि हातपातसमेत भएको दाबी गरेका थिए । लाइभमा बताइएअनुसार पाँच जनालाई बोलाएको बेलामा मात्रै आउने भनेर कागजमा सही गर्न लगाइएको थियो । आर्थिक कारणले तलवमा राख्न नसक्ने भनेर कँडेलले बताएका थिए । तर, कार्यक्रम नियमित सुटिङ हुँदा पनि नबोलाएर आफूहरूलाई अघोषित निष्कासन गरिएको कलाकारले बताएका थिए । लाइभ आएकामा शर्मिलासहित खगेन्द्र विश्वकर्मा, पूर्ण कँडेल, लक्ष्मी घिमिरेलगायत छन् । कँडेल र घिमिरे सञ्चालक कृष्ण कँडेलका नातेदारसमेत हुन् ।

इन्द्रेणीमा नियमित देखिने गरेकी शर्मिला श्रेष्ठ लाइभमै रोएकी थिइन् । आफ्नो बुवाआमाले कृष्ण कँडेललाई भगवान् मान्ने तर आफूलाई उनैले अन्यायमा पारेको श्रेष्ठले बताइकी थिइन ।

ईन्द्रेणीका सञ्चालक कँडेलले भने आफूले कसैको पनि श्रम र सम्मानमा आँच नपुर्याएको प्रष्टीकरण दिएका थिए । कँडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो प्रष्टीकरण दिँदै समाचार लेख्नेविरुद्ध कानूनी उपचार खोज्ने चेतावनी समेत दिएका थिए । उनले नुबझी झुटो समाचार बनाए कानूनी उपचार खोज्ने चेतावनी दिएका हुन् ।