नेपाल विजयी, नामिबिया ३ रनले पराजित

  • प्रकाशित मिति : २०८० फाल्गुन १८, शुक्रबार
  • नेपाल टेल संवाददाता

त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा जित हासिल गरेको छ ।

त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा भएको खेलमा नेपालले नामिबियालाई ३ रनले पराजित गरेको हो । सुरुवातको दुई खेलमा पराजित नेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब थियो ।



जितका लागि १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ‌ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन मात्र बनाउन सक्यो । नामिबियालाई अन्तिम ओभरमा जितका लागि १२ रन चाहिएको थियो तर करण केसीले कसिलो बलिङ गर्दै ८ रन मात्र दिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले कुशल मल्लको अर्धशतकको मद्दतमा २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८० रन बनाएको थियो ।

नेपालका लागि कुशल मल्लले अर्धशतकीय पारी खेले । उनी ५५ रनमा नट आउट रहे ।

७।२ ओभरमा ४ विकेट गुमाउँदै ६४ रन बनाएर दबाबमा परेको नेपाललाई उकास्ने क्रममा कुशलले आरिफ शेखसँग पाँचौ विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । आरिफ ३१ रनमा आउट भए ।

दीपेन्द्र सिंह ऐरीले ८ बलमा १६ रन बनाए । नेपाली टोलीका कप्तान रोहित पौडेल १० रन र ओपनर आसिफ शेख १ रनमा आउट भएका थिए ।

सातौं ओभरको अन्तिम बलमा ओपनर अनिल साह २३ रन बनाउँदै आउट भए । त्यसपछि आठौं ओभरको दोस्रो बलमा गुल्शन झा पनि व्यक्तिगत २६ रनमा आउट भएका थिए ।