रंगमन्चदेखि ‘रङ्गेली’मा सुन्दर

  • प्रकाशित मिति : २०८० फाल्गुन २७, आईतवार
  • nepaltale.com

हिजोबाट देशभरका हलमा रिलिज भएको फिल्म रङ्गेलीको चर्चा चुलिएको छ। शिवरात्रीको अवसरमा फिल्म प्रदर्शनमा आएसंगै दर्शकको साथ राम्रो पाएको समेत निर्माणपक्षले बताएको छ।

फिल्मको सर्बत्र चर्चा भईराख्दा कलाकारहरूको प्रशंसक पनि बढिरहेका छन्। फिल्ममा मुख्य भुमिकामा देखिएका कलाकारसगैं सम्पुर्ण टिमको पनि तारिफ भई नै रहेको छ।

यसरी नै तारिफ बटुल्न सफल भएका छन् रङ्गेलीका खलनायक पात्रमा देखिएका- सुन्दर धिताल। विगत दश वर्षदेखि यहीं क्षेत्रमा कार्यरत उनको यो पहिलो फिल्म हो। डेब्यु फिल्ममा नै उनले गरेको कामको तारिफ दर्शकहरुले गरि नै रहेका छन्।

फिल्म रङ्गेलीमा ‘गट्टु भैया’ को चरित्र निर्भाह गरेका सुन्दरको यो पहिलो फिल्म भएपनि उनी नाटकहरु गर्नमा कहिल्यै पछि परेनन्। उनले गरेको नाटक ‘२४ मा १२’, ‘ज्ञानको चिहान’ पनि दर्शकले खुबै रुचाएका थिए। त्यसैगरी उनले ‘तामाङ दाई’, ‘डिम्पलु’ जस्ता लोकप्रिय म्युजिक भिडीयोमा समेत काम गरेका छन्।

उनले आफुले गर्ने काममा आफ्नो चरित्रले कथालाई अघि बढ्न कसरी मदत गर्छ भन्ने बुझेर मात्र काम गर्ने बताएका छन्। ‘मैले निभाउने चरित्रले कथालाई कसरी अघि बढाउँछ भनेर सोच्छु,’ उनले भनेका छन, ‘म आफ्नो स्क्रिन टाईम हेरेर भन्दापनि आफ्नो चरित्रको भुमिका हेरेर काम गर्छु’ ।

थिएटरमा कलाकारको रुपमा एउटा राम्रो छवि बनाएका उनले ‘समय पीडा’ नामक नाटक निर्देशन समेत गरेका छन्। उनको निर्देशनमा बनेको उक्त नाटकले पनि दर्शकहरुबाट तारिफ पाएको थियो।

फिल्म रङ्गेलीले दिएको मौकाको सुन्दरले भरपुर फाईदा उठाएको देखिन्छ। पहिलो फिल्ममा नै उनले पाएको यो चर्चाले उनको आगामी दिनको यात्रा सहज हुने धेरैले दाबी समेत गरेका छन्।

उनले गरेको नाटक ‘अन्धवेग’ अहिले मन्डला थिएटरमा मन्चन भईरहेको छ।