आईसीसीकै सहमतिमा सन्दीप लामिछानेलाई १५औं खेलाडीमा गोप्य राखिएको थियो : चन्द

  • प्रकाशित मिति : २०८१ जेष्ठ १८, शुक्रबार
  • nepaltale.com

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई नेपालले १५ सदस्यीय स्क्वाडमा समावेश नगरिएकाले अमेरिकाले भिसा नदिएको भन्दै सामाजिक सञ्जालमा फैलाइएको अफवाहको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले खण्डन गरेका छन्।

सन्दीपलाई विश्वकपका लागि भिसा दिन आईसीसीले पठाएको पत्र समेत उनले सार्वजनिक गरेका छन् ।

चन्दका अनुसार सन्दीपले सफाइ पाएलगत्तै क्यानले आइसीसीसँग समन्वय गरेर उनलाई सक्वाडमा समावेश गराएको थियो ।

यदि भिसा नपाएको खण्डमा खेलाडी परिवर्तन गर्न सकिने सुविधा समेत आइसीसीले दिएको उनले खुलासा गरेका छन् । त्यही भएर नेपालले अन्य १४ जना खेलाडीको नाम पनि गोप्य राखेको उनको भनाइ छ ।

क्यान अध्यक्ष चन्दले सामाजिक संजालमार्फत सन्दीपलाई टीममै नराखिएको भन्ने कुराको खण्डन गरेका हुन् ।

‘विशेष परिस्थिति भएकोले नेपाललाई मात्र सुविधा दिएको थियो कि कुनै कारणले सन्दीपले भिसा नपाएको खण्डमा उनको सट्टामा खेलाडी परिवर्तन गर्न मिल्ने थियो। त्यसकारण १४ जना को नाम (गोप्य)सन्दीप लाई समावेश गरिएको थियो । सम्भावित प्रतिस्थापन हुने खेलाडीको मनोबल कमजोर हुन नदिन टीम व्यवस्थापनले यो परिपक्व निर्णय गरेको थियो,’उनले लेखेका छन् ।

किकेट संघले सतर्कताका साथ गोप्य राख्नुपर्ने विषयलाई प्रोपोगन्डा बनाइ कमजोरीको रुपमा व्याख्या नगरिदिन उनले अनुरोध गरे।

साथै झुठो र अन्दाजी कुरा गरेर क्रिकेटप्रेमीहरुलाई भ्रम मा नपार्न आग्रह समेत गरेका छन् ।

अमेरिकी दुतावासले दोस्रो पटक भिसा अस्वीकृत गरेसंगै सन्दीपको विश्वकप खेल्ने सम्भावना सकिएको छ।