नन्दन यादवले त्रीदेशीय श्रृंखलाको सबै खेल गुमाउने

  • प्रकाशित मिति : २०८२ असार ४, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं। नेपालका तीव्र गतिका बलर नन्दन यादवले स्कटल्यान्डमा जारी त्रीदेशीय टी २० श्रृंखलाको सम्पूर्ण खेल गुमाउने भएका छन्। तितवुड क्रिकेट मैदानमा त्रिदेशीय श्रृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्ससँगको खेलमा अन्तिम ओभर बलिङ गर्ने बेला नन्दनको बुढी औंलामा चोट लागेको हो।

उनलाई १९.५ ओभरमा बलिङ गरिसकेपछि थ्रोमा आएको बल समाउने क्रममा उनको औंलामा चोट लागेको हो। उनले उक्त खेलमा बुढी औंलामा टेप लगाएर ब्याटिङमा आएका थिए। अन्तिम ओभरमा उनको २ बाउन्ड्रीमा नेपालले खेल सुपर ओभर खेलेको थियो।



दोस्रो खेलमा उनलाई प्रतिस्थापन गर्दै बसिर अहमदलाई प्लेइङ सेटमा खेलाइएको थियो। यसअघि नै नेपाली टिमका दुई बलरद्वय सोमपाल कामी र गुल्सन झाले घाइते भएर बाँकी खेल गुमाएका थिए।

नन्दनको बुढी औंलाको नङमा चोट लागेको हुँदा उनले १५ देखि २० दिन आराम गर्नुपर्ने अवस्था रहेको नेपाली टिमका व्यवस्थापक माधव कर्मचार्यले जानकारी दिए। ‘नन्दनले यो श्रृंखलाको सबै खेल गुमाउँछ। यसअघि नै हाम्रो बलरद्वय सोमपाल र गुल्सन बाहिरिइ सक्दा अलिकति टिममा समस्या पर्ने जस्तो देखिइरहेको छ’ उनले भने।

सोमपाल कामीको हातमा चोट लागेको र उनलाई ठिक हुन कम्तीमा पनि ५ हप्ताको समय लाग्ने कर्मचार्यले बताए। गुल्सन झाको भने घुँडामा समस्या आएको हो।