जेनजीको राप : २७ घण्टामा प्रधानमन्त्रीबाट ओलीको बहिर्गमन

  • प्रकाशित मिति : २०८२ भाद्र २५, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौँ । जेनजी पुस्ताले भ्रष्टाचार, बेतिथि, नेपोकिड्स, र सामाजिक सञ्जाल बन्दको विरुद्धमा सोमबार बिहान ११ बजेबाट आन्दोलन सुरु गरेका थिए ।

उनीहरूको आन्दोलनको राप यति बढ्यो कि आन्दोलन सुरु भएको २७ घण्टामै प्रधानमन्त्री पदबाट केपी शर्मा ओली बहिर्गमनमा पर्नुपर्‍यो ।



सोमबारको आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दै १९ जनालाई गोली हानेर मारेको थियो । ठूलो संख्यामा मृत्यु र घाइते भएपछि आन्दोलनको राप बढ्दै गयो ।

मंगलबार बिहानैबाट आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीत्रय शेरबहादुर देउवा, पुष्पकमल दाहाल र माधवकुमार नेपालको घरमा आगजनी गरे ।

नयाँ बानेश्वरस्थित संसद् भवन, सिंहदरबारलगायतका सरकारी भवन ध्वस्त भए । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका पार्टी कार्यालय ध्वस्त भए ।

फलस्वरूप ओली राजीनामा दिन बाध्य भए । ओली २०८१ असार ३० प्रधानमन्त्रीमा नियुक्त भएका थिए । उनलाई नेपाली कांग्रेसले समर्थन गरेको थियो ।