सिन्धुपाल्चोकको बाह्रविसेस्थित किस्टोन अस्पतालको फार्मेसीमा गएराति भीषण आगलागी हुँदा फार्मेसीमा रहेका सबै औषधि तथा सामग्री जलेर नष्ट भएका छन् । राति करिब २ बजे विद्युत् सर्ट भएर आगलागी सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय बाह्रविसेका अनुसार आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयवासी रातभर खटिएका थिए । उनीहरूको सक्रियतापछि आगलागी नियन्त्रणमा आएको हो । घटनाबाट भएको क्षतिको विस्तृत विवरण भने अझै संकलन भइरहेको छ।
घटनापछि बाह्रविसे नगरपालिकाको दमकल प्रयोगमा नआएको विषयले स्थानीय तहको तयारीमाथि गम्भीर प्रश्न उठाएको छ । जापान सरकारको सहयोगमा प्राप्त दमकल नगरपालिकासँग भए पनि आगलागीको समयमा प्रयोग हुन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् । नरपालिकाको कार्यालय नजिकै भएको आगलागीमा समेत दमकल नपुग्दा जनस्तरबाट व्यापक आलोचना भएको छ ।
बाह्रविसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले दमकल सञ्चालनका लागि आवश्यक जनशक्ति अभाव रहेको बताए । उनका अनुसार उक्त दमकल सञ्चालन गर्न कम्तीमा आठ जना दक्ष जनशक्ति आवश्यक पर्ने भए पनि कर्मचारी व्यवस्थापनको प्रयास विवादका कारण सफल हुन नसकेपछि आफुहरुले जनशक्ति नराखेको बताए ।
‘हामीलाई जापान सरकारले दमकल त दियो, तर सञ्चालनका लागि आवश्यक जनशक्ति भएन , कर्मचारी राख्न खोज्दा विरोध भयो, त्यसैले राख्न सकिएन, ’ मेयर बस्नेतले भने। उनले आगलागीका बेला आफैंले दमकल सञ्चालन गर्ने प्रयास गरे पनि लामो समयदेखि प्रयोगमा नआएकाले दमकल स्टार्ट नै नभएको बताए ।
स्थानीयवासीले भने आपत्कालीन सेवाका लागि ल्याइएको दमकल प्रयोगविहीन अवस्थामा रहनु र संकटको समयमा काम नलाग्नु गम्भीर लापरबाही भएको आरोप लगाएका छन् ।