बेलायतबाट अमेरिका फर्किन लाग्दा ट्रम्पको हेलिकप्टरमा समस्या, जाँदा पनि भएको थियो घटना

  • प्रकाशित मिति : २०८२ आश्विन ३, शुक्रबार
  • नेपाल टेल संवाददाता

एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प सवार हेलिकप्टरलाई लुटोन विमानस्थल जान बाध्य पारिएको छ ।

बेलायतको राजकीय भ्रमण सकेर अमेरिका फर्कंदै गर्दा उक्त घटना भएको हो ।



ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलाइन लिभिटले सानो हाइड्रोलिक कुराले गर्दा उक्त हेलिकप्टर स्थानीय विमानस्थलमा अवतरण गर्न बाध्य भएको बताइन् । त्यो हेलिकप्टर निर्धारित समयभन्दा २० मिनेट ढिलो गरी स्टानसेड पुगेको थियो ।

सतर्कता अपनाएर उक्त निर्णय लिइएको लिभिटले बताइन् । राष्ट्रपति र प्रथम महिला अर्को हेलिकप्टरमा सुरक्षित रूपमा चढेको उनले जानकारी गराइन् ।

ट्रम्पको हेलिकप्टर लुटोनमा ओर्लिंदा आकस्मिक सेवाका कर्मचारी धावनमार्गमा पुगेका थिए ।

अमेरिकाको राष्ट्रपतिले चढ्ने हेलिकप्टरलाई मरिन वान भनेर चिनिन्छ ।

त्यस हेलिकप्टरमा क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली र रेडार जाम गरिदिने प्रविधि जडान गरिएको हुन्छ । त्यस्तै आणविक विस्फोट भएको अवस्थामा आउने इलेक्ट्रोम्याग्नेटिक पल्सको सामना पनि त्यसले गर्न सक्छ ।

सुरक्षाका लागि मरिन वान उस्तै देखिने हेलिकप्टरहरूको झुण्डमा उड्छ ।

ट्रम्पले बेलायतको भ्रमणका क्रममा विभिन्न ठाउँमा जानका लागि यही हेलिकप्टर उपयोग गर्दै आएका छन् ।

उनी मंगलवार अबेर राति स्टानसेड पुगेका थिए । त्यहाँबाट लन्डनको मध्यभागमा रहेको विनफिल्ड हाउसमा पनि हेलिकप्टरबाट पुगेका थिए । त्यो बेलायतका लागि अमेरिकी राजदूतको निवास हो ।

त्यसको भोलिपल्ट ट्रम्प र उनकी पत्नी मेलानिया त्यही हेलिकप्टरमा चढेर विन्डसर क्यासल पुगी राजा र रानीलाई भेटेका थिए ।

बिहीवार ट्रम्प मरिन वान चढेर विन्डसोरबाट चेकर्स भन्ने ठाउँ पुगेका थिए । त्यहाँ उनले बेलायतका प्रधानमन्त्री केर स्टार्मरसँग कूटनीतिक वार्ता गरेका थिए ।

बेलायत जाँदै गर्दा पनि ट्रम्प चढेको एयरफोर्स वान नजिक यात्रुवाहक विमान स्पिरिट आइपुगेपछि अधिकारीहरू सतर्क भएका थिए ।