काठमाडौं । सरकारले भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरेको छ ।
५ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार अर्थ मन्त्रालयले ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश २०८२’ जारी गरेको थियो ।
सोही आदेश अनुसार कोष खडा गरी योगदान गर्न सबैलाई आह्वान गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार जेन जी आन्दोलन क्रममा तोडफोड र आगजनी भएका संरचना पुनर्निर्माणका लागि सरकारले कोष स्थापना गरेको हो ।
कोषमा योगदान गर्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिकसँग आह्वान गरिएको छ । साथै, गैरआवासीय नेपाली, मित्र राष्ट्र, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समेत सहयोगका लागि आह्वान गरिएको छ ।
यस्तो आर्थिक सहायता योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्न पाइने भएको छ । सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेको छ । साथै, क्यूआर कोडसमेत सार्वजनिक गरेको छ ।