विपद् जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको ८ बुँदे परिपत्र, सीडीओ र प्रहरी प्रमुखलाई २४ सै घण्टा कार्यालयमा बस्न निर्देशन

  • प्रकाशित मिति : २०८२ आश्विन १८, शनिबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई ८ बुँदे निर्देशन जारी गरेको छ ।

मन्त्रालयले मनसुनजन्य विपद् जोखिमलाई ध्यानमा राखी शनिबार जारी गरेको परिपत्रमा असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका भित्रिने तथा बाहिरिने सबै लामो दूरीका सवारी साधन सञ्चालन बन्द गर्न, त्यसको अनुगमन र निगरानी गर्न निर्देशन दिएको छ ।



यात्रु र सडक सुरक्षाका लागि व्यवस्था निर्देशनअनुसार राजमार्गमा रोकिएका सवारी साधनलाई सडक र मौसमको अवस्था हेरी गन्तव्यसम्म पुर्‍याउने, यात्रुहरूलाई स्थानीय तह र संघसंस्थाको सहयोगमा खानपानको व्यवस्था मिलाउने भनिएको छ ।

एम्वुलेन्स तथा गर्भवती महिलालाई नजिकको बर्थिङ सेन्टरसम्म सुरक्षित रूपमा पुर्‍याउने विशेष व्यवस्था गर्नसमेत निर्देशनमा जोड दिइएको छ ।
बाढी पहिरो जोखिममा रहेका बस्तीका परिवारलाई तत्काल नजिकैको विद्यालय वा खुला स्थानमा स्थानान्तरण गर्नुपर्ने भनिएको छ । साथै, मौसमका कारण उडान स्थगित भएर विमानस्थलमै फर्कन बाध्य भएका यात्रुहरूलाई यातायात व्यवसायीसँग समन्वय गरी गन्तव्यसम्म पुर्‍याउनुपर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

बाढी–पहिरोका कारण आकस्मिक उद्धार गर्नुपर्ने अवस्था आए हेलिकप्टरमार्फत उद्धार गर्न गृह मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखासँग सम्पर्क गर्न निर्देशन दिइएको छ ।

निर्देशनमा विपद् प्रभावित जिल्ला प्रशासन प्रमुख, प्रहरी र सुरक्षाकर्मीका प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपलब्ध हुने व्यवस्था मिलाउन आदेश दिइएको छ । साथै, सबै प्रगति विवरण मन्त्रालयको विपद् तथा द्वन्द व्यवस्थापन महाशाखामा नियमित पठाउन समेत भनिएको छ ।

गृह मन्त्रालयको यो निर्देशलाई जिल्लास्तरीय प्रशासनले तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने र स्थानीय तहसँगको सक्रिय समन्वयमा विपद् जोखिम न्यूनीकरण तथा उद्धार–राहतको काम अघि बढाउनुपर्ने जनाएको छ ।