सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने गुरुयोजना स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले सहरी विकास मन्त्रालयको प्रस्तावमा गुरुयोजना स्वीकृत गर्दै आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त परियोजनाका रूपमा निर्धारण गरेको हो । गुरुयोजना अनुसार रंगशाला निर्माणमा करिब १० अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।
सहरी विकासमन्त्री कुलमान घिसिङका अनुसार कीर्तिपुर रंगशाला नेपालकै पहिलो अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदानका रूपमा विकास हुनेछ । उनले रंगशाला अन्तर्राष्ट्रिय खेल आयोजना र खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने भएकाले गुरुयोजना स्वीकृत गरिएको बताए ।
मन्त्री घिसिङले रंगशालाको विकास र आधुनिकीकरणलाई रणनीतिक रूपमा अत्यावश्यक बताउँदै, आवश्यक स्रोत सुनिश्चित गरी निर्माण कार्य अघि बढाइने जानकारी दिए ।