आजदेखि सुरु तिहार : उज्यालो र भाइचाराको पर्व यमपञ्चक आरम्भ

  • प्रकाशित मिति : २०८२ कार्तिक २, आईतवार
  • नेपाल टेल संवाददाता

उज्यालोको पर्वका रूपमा मनाइने यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा सुरु हुँदैछ। प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने यो पर्व आज दिउँसो १:२३ बजे त्रयोदशी तिथि लागेसँगै सुरु भएको हो।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज धनतेरस अर्थात् धनत्रयोदशी र यमदीपदान पर्व मनाइन्छ। समितिका धर्मशास्त्रविद् प्रा. डा. देवमणि भट्टराईका अनुसार यमदीपदान आजदेखि भाइटीकासम्म गरिन्छ।



भोलि आइतबार काग तिहार र धनवन्तरी जयन्ती एकै दिन पर्नेछ भने सोमबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ। सोमबार बिहान नरक स्नान गरेर बेलुकी लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ।

कात्तिक ५ गते बुधबार गाई–गोरु पूजा, गोवर्धन पूजा, बलीपूजा, आत्म (म्ह) पूजा र नेपाल संवत् ११४६ आरम्भ हुनेछ। कात्तिक ६ गते बिहीबार भाइटीका लगाइनेछ। यस दिन बिहान ११:३९ बजे भाइटीकाको उत्तम साइत रहेको समितिका सदस्य लक्ष्मण पन्थीले जानकारी दिए। भाइटीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्केर बस्ने शास्त्रीय परम्परा छ।

तिहारका अवसरमा राजधानीसहित देशका प्रमुख सहरहरू झिलीमिली बत्तीले उज्यालो भएका छन्। लक्ष्मीपूजाका दिन भैलो र गोवर्धन पूजाका दिन देउसी खेल्ने परम्परा कायम छ।

यसैबीच, नेपाल प्रहरीले पटाका नपड्काई सभ्य र सुरक्षापूर्ण रूपमा पर्व मनाउन अनुरोध गरेको छ।