आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई दीर्घायु र ऐश्वर्यको कामना गर्दै पञ्चरंगी टीका लगाइँदै

  • प्रकाशित मिति : २०८२ कार्तिक ६, बिहीबार
  • नेपाल टेल संवाददाता

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज देशभर भाइटीका मनाइँदैछ । आजको दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र स्नेहका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्छन् ।

दाजुभाइले पनि दिदीबहिनीको माया र आशिषस्वरूप टीका लगाइदिई दक्षिणा तथा उपहार दिने चलन रहेको छ । शास्त्रीय मान्यताअनुसार दिदीबहिनीले पूजा गरेमा दाजुभाइलाई ऐश्वर्य र दीर्घजीवन प्राप्त हुने विश्वास गरिन्छ ।



नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यो वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको छ । समितिका अध्यक्ष प्राध्यापक शम्भु प्रसाद ढकालका अनुसार साइत अनुसार टीका लगाउन सकिने भए पनि आज दिनभर टीका लगाउन कुनै बाधा छैन । तर राज्य सञ्चालकहरूले भने साइतअनुसार नै टीका ग्रहण गर्नुपर्ने सुझाव समितिले दिएको छ ।

यमपञ्चकको अन्तिम दिनका रूपमा मनाइने भाइटीका सामान्यतया पाँच दिनको तिहारको अन्तिम दिन पर्छ । तर यस वर्ष तिथि वृद्धि भएकाले छैटौं दिनमा भाइटीका परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।