आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक द्वितीया तिथि — दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने दिन हो।शास्त्रअनुसार यस दिन टीका लगाउनु अघि सूर्य, गणेश, कलश र अष्टचिरञ्जीवीको पूजा गरी विशेष विधिबाट भाइटीका गर्ने चलन छ।
भाइटीकाको उत्पत्ति कथा
पुराणहरूका अनुसार सूर्य भगवान्का पुत्र यमराज र छोरी यमुना हुन्। यमराज यमलोकमा र यमुना पृथ्वीमा बस्दछन्। एक दिन यमराजले यमलोकका कार्यहरू छोडी बहिनी यमुनालाई भेट्न पृथ्वीमा आएका थिए। पाँच दिनसम्म यमुनाले आफ्ना दाजुलाई दिव्य सत्कार गरिन्।
फर्कँदै गर्दा यमराजले यमुनालाई वर माग्न आग्रह गर्दा उनले भनिन् —
“हे दाजु, प्रत्येक वर्ष पाँच दिनका लागि पृथ्वीमा आउनुहोस् र हामीले यस्तै रूपमा उत्सव मनाऔँ।”
त्यस दिनदेखि नै यमपञ्चक पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
पूजाको विधि र सामग्री
भाइटीकाको बिहान ब्रह्ममूर्तमा उठी स्नान गरी शुद्ध वस्त्र धारण गर्नुपर्छ। त्यसपछि पूजा थालीमा फूल, अक्षता, दीप, धूप, कलश, ओखर, बिमिरो, तेल र सप्तरङ्गी टीका तयार पारिन्छ।
-
सूर्य भगवानलाई जल अर्पण गरी पूजा आरम्भ गरिन्छ।
-
“ॐ दीप नारायणाय नमः” भन्दै दियोको,
-
“ॐ वरुण कलशाय नमः” भन्दै कलशको,
-
“ॐ गण गणपतये नमः” भन्दै गणेशको पूजा गरिन्छ।
-
त्यसपछि अष्टचिरञ्जीवीहरूको स्मरण गर्दै दाजुभाइको दीर्घायुका लागि प्रार्थना गरिन्छ।
पश्चात् बिमिरो र ओखरको पूजा गरी सात पटक नटुटिने तेलको धारा लगाइन्छ — यसलाई भाइको आयु दीर्घ रहोस् भन्ने प्रतीक मानिन्छ।
टीका लगाउने दिशा र विधि
दिदीबहिनीले पश्चिम फर्केर दाजुभाइलाई टीका लगाउने र पूजा गर्ने चलन छ। ढाका टोपी लगाइदिएपछि दही, सगुन र मिठा परिकार अर्पण गरिन्छ। त्यसपछि सप्तरङ्गी टीका र माला लगाइदिन्छिन्।
दाजुभाइले पनि दिदीबहिनीलाई दक्षिणा, उपहार र श्रद्धासहित पूजा गर्छन्। यी उपहारहरू एकअर्काबाट फिर्ता लिन नहुने धार्मिक नियम छ।
यस दिन गर्न नहुने काम
१. तामसिक भोजन (मासु, मदिरा आदि) सेवन गर्नु हुँदैन — सात्त्विक भोजन गर्नुपर्छ।
२. टीका लगाउँदा सबले शुद्ध रहनुपर्छ।
३. एकअर्काको मन दुखाउने कुरा बोल्नु हुँदैन।
भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको स्नेह, स्नेह–सम्बन्ध र सौहार्द अझ प्रगाढ बनाउने विश्वास गरिन्छ। यही कारण यो पर्वलाई ममता, आशीर्वाद र सुमधुर सम्बन्धको प्रतीक मानिन्छ।