आजदेखि सूर्य आराधनाको महान् पर्व छठ विधिवत् सुरु

  • प्रकाशित मिति : २०८२ कार्तिक ८, शनिबार
  • नेपाल टेल संवाददाता

सूर्यदेवको आराधना, पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणका कामनासहित मनाइने चारदिने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।

पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । यो दिन ब्रतालुहरूले नदी, पोखरी वा जलाशयमा स्नान गरी पवित्र भाँडामा पकाइएको अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ ।



भोलि (आइतबार) दोस्रो दिन ‘खरना’ मनाइनेछ । साँझपख ब्रतालुहरूले दूध, सक्खर र चामलबाट खीर तयार गरी प्रसादस्वरूप ग्रहण गर्ने र त्यसपछि निराहार व्रत सुरु गर्ने चलन छ ।

तेस्रो दिन सोमबार छठको मुख्य दिन ‘सँझकारक’का रूपमा मनाइनेछ । यस दिन अस्ताउँदो सूर्यलाई पूजा सामग्रीसहित जलाशय किनारमा अर्घ्य दिइन्छ । अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि ‘पारन’ गरी पर्वको समापन गरिन्छ ।

छठ पर्वमा बाँसको ढाकी, डगरी, माटोका कोसिया–कुरबार, हात्ती लगायतका सामग्री अर्पण गरिन्छ । ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा, तरकारी, मिठाई तथा विभिन्न फलफूल सूर्यदेवलाई अर्घ्यस्वरूप चढाइन्छ ।

ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने भएकाले छठलाई निष्ठा, पवित्रता र कठोर साधनाको पर्व मानिन्छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई चढाइएको प्रसाद ग्रहण र वितरण गरिने भएकाले यो पर्व सामाजिक सद्भाव र एकताको प्रतीकका रूपमा पनि मनाइन्छ ।

छठ पर्व नजिकिँदै गर्दा तराई–मधेशका बजारहरूमा पूजा सामग्री किनमेलको चहलपहल बढेको छ । नदी, पोखरी र जलाशयका घाटहरू आकर्षक रूपमा सजाइँदै छन् । जनकपुरका गंगासागर, धनुषसागर, अंगराजसर र दशरथ तालजस्ता ऐतिहासिक जलाशयहरू नवदुलहीझैं सिँगारिँदै छन् । मिथिलाञ्चलसहित सम्पूर्ण तराई–मधेश अहिले छठ गीतका मधुर स्वरले गुन्जायमान बनेका छन् ।