‘जेरी अन टप’ को सुनामी : ११ दिनमै १० करोड पार गर्दै ब्लकबस्टरको दौडमा

  • प्रकाशित मिति : २०८२ कार्तिक १०, सोमबार
  • नेपाल टेल संवाददाता

नेपाली सिनेनगरीमा अहिले एउटा नाम मात्र गुञ्जिएको छ— अनमोल केसी अभिनित ‘जेरी अन टप’। प्रदर्शनको ११ औं दिनमा आइपुग्दा यो चलचित्रले हलहरूमा दर्शकको सुनामी ल्याइरहेको छ।

गत असोज ३१ गतेदेखि प्रदर्शनमा आएको ‘जेरी अन टप’ अहिलेका ७ नेपाली चलचित्र, ३ बलिउड र १ हलिउड फिल्मबीच पनि ‘लामो रेसको घोडा’ सावित भइरहेको छ। तीव्र प्रतिस्पर्धाबीच पनि यसले ब्लकबस्टर बन्ने बाटो समातेको छ।



अन्य नेपाली फिल्महरू सुस्त व्यापारमा सीमित भइरहेका बेला अनमोलको यो फिल्मले भने निरन्तर आक्रामक प्रदर्शन गरिरहेको छ। रिलिजका पहिलो दुई दिन सामान्य कारोबार भए पनि तिहारको विदासँगै ‘जेरी अन टप’ ले गियर परिवर्तन गर्‍यो। १० औं दिनमा फिल्मले एकैदिन एक करोडको कारोबार गर्दै नयाँ रेकर्ड कायम गर्‍यो।

निर्माण टिमका अनुसार, सुयोग गुरुङ निर्देशित यो फिल्मले ११ दिनमा १० करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको छ — जुन अनमोलको करिअरकै सबैभन्दा ठूलो व्यावसायिक सफलता हो।

अनमोलले १२ वर्षे करिअरमा १२ वटा चलचित्रमा अभिनय गरेका छन्। ‘होस्टेल’ बाट नायकका रूपमा डेब्यू गरेका उनले त्यसपछि ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर’ जस्ता फिल्मबाट स्टारडम मजबुत पारेका थिए।

तर दुई वर्षअघि आएको ‘छड्के १’ ले उनलाई ठूलो झट्का दियो। आलोचनाको वर्षा झेलेपछि अनमोलले आफूलाई पुनःनिर्माण गर्ने घोषणा गरे। त्यसपछि आएको ‘फर्की फर्की’ ले उनको करिअरमा केही राहत ल्यायो।

यसपटक ‘जेरी अन टप’ मार्फत उनले अभिनय र व्यक्तित्व दुबैमा सुधार देखाएका छन्। समीक्षक र दर्शक दुवैले उनलाई “पहिलाभन्दा बढी परिपक्व र स्वाभाविक” अभिनय गरेको भन्दै प्रशंसा गरिरहेका छन्।

फिल्मको कथा, प्रस्तुति र अनमोलको भूमिकालाई मिलेर ‘जेरी अन टप’ अहिले देश–विदेश दुवैमा उत्कृष्ट व्यापार गर्दै अगाडि बढिरहेको छ। निर्माण टिमले बताएको छ, महँगो बजेटमा बनेको यो फिल्मले लगानी पहिले नै सुरक्षित गरेको छ र अझै केही हप्ता बलियो व्यापार जारी रहने अनुमान छ।

करिअरको १२ वर्षपछि अनमोलका लागि यो फिल्म दुई हातमा लड्डु झैँ बनेको छ — एकातिर अभिनयको तारिफ, अर्कोतिर जबरजस्त व्यावसायिक सफलता।

अब सबैको नजर छ— ‘जेरी अन टप’ को लाइफटाइम कलेक्सन कति पुग्ला?