कक्षा–१२ को पूरक परीक्षा परिणाम सार्वजनिक, ७३.४१ प्रतिशतले ग्रेड प्राप्त

  • प्रकाशित मिति : २०८२ कार्तिक २४, सोमबार
  • नेपाल टेल संवाददाता

राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरक (मौका) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । असोज ७ र ८ गते सञ्चालन भएको उक्त परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो ।

बोर्डका अनुसार परीक्षामा सहभागी १ लाख ४ हजार २६ विद्यार्थीमध्ये ७६ हजार ३६७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यो कुल परीक्षार्थीको ७३.४१ प्रतिशत हो ।



बोर्डले ४ परीक्षार्थीको परीक्षा परिणाम रद्द गरेको छ । रद्द भएका परीक्षार्थीका सिम्बोल नम्बरहरू क्रमशः ९७१०१०७०, ९७१०११२८, ९७१०२७१६ र ९७१०४०९९ रहेका छन् ।

बोर्डले नतिजा आफ्नै वेबसाइटसँगै नेपाल टेलिकमको वेबसाइटमा पनि हेर्न सकिने जनाएको छ । साथै, मोबाइल एसएमएसमार्फत पनि नतिजा थाहा पाउन सकिने व्यवस्था गरिएको छ ।

एसएमएसबाट नतिजा हेर्नका लागि नेपाल टेलिकम सिम प्रयोगकर्ताले ठूलो अक्षरमा NEB टाइप गरी स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेखी १६०० मा पठाउनुपर्ने बोर्डले जनाएको छ ।