आज देशभर एमालेको जनसभा, कहाँ कुन नेता खटिए ?

  • प्रकाशित मिति : २०८२ कार्तिक २९, शनिबार
  • नेपाल टेल संवाददाता

नेकपा एमालेले आज देशभरका जिल्लामा जनसभा गर्दै आफ्नो जनपरिचालन अभियानको तेस्रो चरण सञ्चालन गर्दैछ। ‘प्रतिगामी षड्यन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम’ अन्तर्गत अधिकांश जिल्लाका सदरमुकाम तथा प्रमुख शहरहरूमा जनसभा गर्ने तयारी गरिएको पार्टीले जनाएको छ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक सहभागिता सुनिश्चित गर्न केन्द्रीय तहका नेता तथा सदस्यहरू विभिन्न जिल्लामा खटाइएका छन्। उनले भने, “आजको जनसभाबाट एमाले अझै पनि देशको लोकप्रिय शक्ति हो भन्ने सन्देश स्थापित हुनेछ।”



एमालेको जनपरिचालन कार्यक्रम चार चरणमा सञ्चालन भइरहेको छ।

-पहिलो चरण: कात्तिक २२ मा देशभर वडा भेला

-दोस्रो चरण: कात्तिक २५ मा जनप्रदर्शन तथा र्याली

-तेस्रो चरण: आज सबै जिल्लामा जनसभा

-चौथो चरण: मंसिर ६ मा काठमाडौंमा विशाल जनसभा गर्दै कार्यक्रम समापन गर्ने योजना

आजका प्रमुख सभाहरूमा पार्टीका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन्।

-महासचिव शंकर पोखरेल — नेपालगञ्ज

-उपमहासचिव प्रदीप ज्ञवाली — गुल्मी

-उपमहासचिव पृथ्वी सुब्बा गुरुङ — लमजुङ

-सचिव छबिलाल विश्वकर्मा — रुपन्देही

-सचिव पद्मा अर्याल — झापा, बिर्तामोड

-कोशी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य हिक्मत कार्की — धनकुटा

एमालेले जनसभामार्फत कार्यकर्तामात्र होइन, सर्वसाधारणबीच पनि आफ्नो राजनीतिक सन्देश सशक्त रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।