नेपाल प्रहरीले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान (टीयू मैदान) वरपर टिकटबिनाका व्यक्तिले भीडभाड नगर्न आग्रह गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलका सबै टिकट बिक्री भइसकेको जानकारी प्राप्त भएपछि प्रहरीले सुरक्षाको सहज व्यवस्थापनका लागि सार्वजनिक सूचना जारी गरेको हो।
प्रहरीले सूचना जारी गर्दै भनेको छ, ‘टिकट नभएका महानुभावहरूले उक्त स्थान वरपर भीडभाड नगरी सुरक्षा व्यवस्थापनका कार्यमा सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं।’
आजबाट टीयू मैदानमा सुरु भएको एनपीएलको दोस्रो संस्करणको उद्घाटन खेल साँझ ४ बजे काठमाडौँ गोर्खाज र साविक च्याम्पियन जनकपुर बोल्ट्सबीच हुँदैछ। टीयू मैदानमा पहिलोपटक फ्लडलाइटमा खेल भइरहेका कारण दर्शकको उत्साह उच्च देखिएको छ।
यस संस्करणमा जनकपुर बोल्ट्स, काठमाडौं गोर्खाज, सुदूरपश्चिम रोयल्स, चितवन राइनोज, विराटनगर किङ्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धा गर्दैछन्।