नेपाल वायुसेवा निगममा अमृतमान श्रेष्ठ कार्यवाहक महाप्रबन्धक नियुक्त

  • प्रकाशित मिति : २०८२ मंसिर ३, बुधबार
  • नेपाल टेल संवाददाता

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सञ्चालक समिति सदस्य अमृतमान श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धक (कार्यबाहक जीएम) मा नियुक्त गरेको छ। प्रशासनिक पृष्ठभूमि भएका श्रेष्ठ निगमका कामु उपनिर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन्।

नियुक्ति सम्बन्धी चर्चा सार्वजनिक भए पनि आधिकारिक पत्र भने आइसकेको छैन। ‘हामीले पनि सुनेका छौं, तर आधिकारिक पत्राचार भएको छैन,’ नेपाल वायुसेवा निगमका प्रवक्ता अनिल घिमिरेले बताएका छन्। मन्त्रिपरिषद्को निर्णय प्रमाणिकरण भएपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने र बुधबारमै पत्राचार गरी पद बहाली गराउने तयारी रहेको पर्यटन मन्त्रालय स्रोतले जनाएको छ।



कारोबार प्रमुख युवराज अधिकारी अवकाश भएपछि उपकार्यकारी निर्देशक जनकराज कालाखेतीलाई निमित्त महाप्रबन्धक बनाइएको थियो। तर आर्थिक अधिकार नदिइएपछि उनले ‘काम गर्न नसक्ने’ भन्दै राजीनामा शैलीमा मन्त्रालयलाई जानकारी गराएका थिए।

त्यसपछि मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सञ्चालक समिति सदस्य श्रेष्ठलाई कार्यवाहक महाप्रबन्धकको जिम्मेवारी दिने निर्णय गरेको हो। श्रेष्ठ निगमको साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभागमा कार्यरत रहेर आठौँ तहबाट नौौँ तह (उपसचिव सरह) सम्मको जिम्मेवारी सम्हाली सकेका छन्।

श्रेष्ठले करिब २४ वर्ष नेपाल वायुसेवा निगममा काम गरेर पाँच वर्षअघि अवकाश पाएका थिए। अवकाशको डेढ वर्षमै उनलाई निगमको सञ्चालक समिति सदस्य बनाइएको थियो। हाल सरकारले स्थायी महाप्रबन्धक नियुक्तिका लागि पर्यटन सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा सिफारिस समिति गठन गरिसकेको छ।