नेपाल वायुसेवा निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतका विषयको छानबिन गर्न अध्ययन समिति गठन गरिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नागरिक उड्डयन महाशाखा प्रमुख सहसचिव मुकेश डंगोलको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो ।
समितिका सदस्यहरूमा उपसचिव (लेखा) रमेश पौडेल, कानुन अधिकृत आयाम शर्मा, एटिसी अधिकृत सुवर्णराज भट्टराई र उपसचिव गोकर्णप्रसाद उपाध्याय रहेका छन् ।
मन्त्रालयको चैत ५ गतेको सचिवस्तरको निर्णयानुसार निगमको बेथिति र जहाजमा भएको भ्रष्टाचार लगायतको विषयमा प्रमाण संकलन, अध्ययन एवं छानबिन गरी कार्यान्वयन कार्ययोजनासहितको प्रतिवेदन एक महिनाभित्र पेस गर्ने गरी समिति गठन गरिएको मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले बताए ।