राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गतेका लागि घोषणा गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल बनाउन सबै पक्षलाई अपिल गरेका छन्। पद्मकन्या बहुमुखी क्याम्पसको हीरक जयन्ति समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले यो निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताए।
राष्ट्रपति पौडेलले मुलुक हाल चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै संविधान, लोकतन्त्र र राष्ट्रलाई जोगाउनकै लागि निर्वाचनको मिति तोकिएको स्पष्ट पारे। उनले निर्वाचनको परिणामले देशमा सुशासन, विकास र समृद्धिको यात्रालाई थप सबल बनाउँदै मुलुकलाई नयाँ दिशातर्फ अघि बढाउने विश्वास व्यक्त गरे।
उनले भने, “यो निर्वाचनको परिणामले सुशासन, विकास र समृद्धिको यात्रालाई सुदृढ तुल्याउँदै नयाँ दिशा दिनेछ भन्ने मलाई विश्वास छ। देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएकाले यसलाई सफल पार्न सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई म अपिल गर्दछु।”
कार्यक्रममा राष्ट्रपति पौडेलले समाज तथा राष्ट्रका आवश्यकता अनुसार व्यवहारिक ज्ञान, नैतिक शिक्षा र सीपमूलक शिक्षालाई मजबुत बनाउनुपर्ने आवश्यकता पनि औंल्याए। पद्मकन्या क्याम्पसलाई महिला विश्वविद्यालयका रूपमा विकास गर्न भइरहेका प्रयासप्रति उनले प्रसन्नता व्यक्त गरे।