कुलमान संरक्षक रहेको ‘उज्यालो नेपाल पार्टी’ मंसिर १७ गते औपचारिक घोषणा हुने

  • प्रकाशित मिति : २०८२ मंसिर १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

उर्जाविद् तथा मन्त्री कुलमान घिसिङको संरक्षकत्वमा गठन भएको ‘उज्यालो नेपाल पार्टी’ मंसिर १७ गते औपचारिक रूपमा घोषणा हुने भएको छ। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आगामी मंसिर १७ गते प्रज्ञा भवन, कमलादीमा दिउँसो १ बजेदेखि ४ बजेसम्म घोषणा सभा आयोजना हुने जानकारी गराइएको हो।

घोषणा कार्यक्रमका प्रमुख अतिथि स्वयं उर्जामन्त्री कुलमान घिसिङ रहनेछन्। सो अवसरमा पार्टीको दीर्घकालीन दृष्टि, मूल ध्येय तथा विस्तृत घोषणापत्र–२०७९ औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ।



पार्टीले जारी गरेको विज्ञप्तिमा सैद्धान्तिक दृष्टिकोण, प्राथमिकता र कार्ययोजना स्पष्ट रूपमा प्रस्तुत गरिने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘हामी दलहरूको भीडमा थपिएको नयाँ दल मात्र होइनौँ। हामीसँग उज्यालो सपनालाई व्यवहारमा उतार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ। आम जनताले विश्वास गरेको र कामबाट प्रमाणित नेतृत्व छ।’

उज्यालो नेपाल पार्टीले समान सोच र दृष्टिकोण भएका वैकल्पिक राजनीतिक दल, सङ्घ–संगठन तथा सरोकारवाला समूहसँग सहकार्य गर्न इच्छुक रहेको जनाएको छ।
साथै, जेनजी आन्दोलनबाट हासिल उपलब्धिलाई संस्थागत गर्दै समृद्ध राष्ट्र निर्माणका लागि परिणाममुखी संवादमार्फत एकजुट हुन सबैलाई आह्वान गरिएको छ।