च्याम्पियन जनकपुरको पहिलो जित, चितवन राइनोजको प्लेअफ यात्रा चुनौतीपूर्ण

  • प्रकाशित मिति : २०८२ मंसिर १६, मंगलवार
  • नेपाल टेल संवाददाता

साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पाँचौँ खेलमा आएर पहिलो जित दर्ता गरेको छ। मंगलबार चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरले जारी सिजनको पहिलो सफलता हासिल गरेको हो। यससँगै जनकपुरले अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ।

जनकपुरले अब लिग चरणमा लुम्बिनी लायन्स र कर्णाली याक्ससँग खेल्न बाँकी छ। प्लेअफ सम्भावना जोगाइराख्न यी दुवै खेल जित्नुका साथै अन्य टिमहरूको नतिजामा पनि भर पार्नुपर्ने जनकपुरको अवस्था छ।



यसअघि जनकपुरले लिगको सुरुवाती खेलहरूमा लगातार हार व्यहोरेको थियो। पहिलो खेलमा काठमाडौँ गोर्खाजसँग ५ विकेटले, दोस्रो खेलमा विराटनगर किङ्ससँग ९ रनले, तेस्रोमा पोखरा एभेन्जर्ससँग २५ रनले र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएको थियो।

उता, जनकपुरसँगको हारले चितवन राइनोजको प्लेअफ यात्रा थप जटिल बनेको छ। मिश्रित प्रदर्शन गरिरहेको चितवनले अब लिग चरणमा बलियो टोली सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ। प्लेअफमा टिक्न चितवनले दुवै खेल जित्नैपर्ने छ।

चितवनले पाँच खेलमा दुई जीत र तीन हारसहित चार अंक जोडेको छ। पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको चितवन लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किङ्सलाई ४८ रनले हराउँदै पुनरागमन गरे पनि काठमाडौँ गोर्खाजसँग ५३ रनले पराजित हुँदै चितवनले पुनः हारको सामना गरेको थियो।