आज पनि बढ्यो सुनको मूल्य, चाँदीको भाउ हालसम्मकै उच्च

  • प्रकाशित मिति : २०८२ मंसिर २५, बिहीबार
  • नेपाल टेल संवाददाता

लगातार महँगिँदै आएको सुनको मूल्य आज फेरि उक्लिएको छ। हिजो मात्र तोलामा २ सय रुपैयाँले बढेको सुन आज एकैदिन थप १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

नवीनतम दरअनुसार आज सुन तोलामा २ लाख ५३ हजार १०० रुपैयाँ पुगेको छ। हिजो सुनको दर २ लाख ५२ हजार १०० रुपैयाँ थियो।



गएको असोज ३१ गते तोलाको २ लाख ५८ हजार ८ सय रुपैयाँ पुगेको दर अहिलेसम्मकै उच्च मानिएको छ।

यस्तै, चाँदीको मूल्य पनि आज उछालिँदै ऐतिहासिक उच्चतामा पुगेको छ। प्रतितोला १५५ रुपैयाँ बढेर चाँदी आज ३ हजार ८ सय ५ रुपैयाँ पुगेको छ। हिजो यसको दर ३ हजार ७ सय ५० रुपैयाँ थियो।

सुन–चाँदी दुवैको मूल्यमा आएको यो तीव्र वृद्धि अन्तर्राष्ट्रिय बजारको उतार–चढाव, भू–राजनीतिक तनाव र बढ्दो मागसँग सम्बन्धित रहेको विश्लेषकहरूको मूल्यांकन छ।