सिआइबीको संस्थापक समेत रहेका नवनियुक्त श्रममन्त्री भन्छन् : ‘सङ्गठित अपराधका जालो तोड्छु’

  • प्रकाशित मिति : २०८२ मंसिर २७, शनिबार
  • नेपाल टेल संवाददाता

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् ।

पदवहालीपश्चात पत्रकारमाझ उनले सरकारको कार्यावधि निकै छोटो भए पनि एक दिनलाई एक घण्टाको द्रुतगतिमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भण्डारीले आफू लामो समय सिआइबीको संस्थापक भएर काम गरेको हुँदा सङ्गठित अपराधका गतिविधिको जालो तोड्न कार्ययोजना बनाउने बताए ।



“प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ”, मन्त्री भण्डारीले भने, “अब भने हरेक प्रहरी दमनकारी हुँदैन र हरेक जेनजी विध्वंशकारी हुँदैन भनेर महसुस गराउनु छ ।” उनका अनुसार जेनजीको पीडा जति छ, नेपाल प्रहरीको पनि उत्तिकै छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवै आवाजलाई मन्त्रिपरिषद्मा लिएर जान सकिने पनि उनले सुनाए ।

प्रहरी सेवाबाट अवकाश भएको करिब एक दशकपछि उनी मन्त्री बनेका हुन् । अवकाश अवधिमा लेख, रचना लेख्ने, पठनपाठनमा सक्रिय भएका उनले अब भने श्रम मन्त्रालयमार्फत जनता र मुलुकको सेवा गर्ने बताए ।