नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ। अतिथि सत्कार समितिका अनुसार भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा मध्यान्ह हुने उद्घाटन समारोहमा १६ वटा राजनीतिक दल र ६ वटा सामाजिक संघ–संस्थाका प्रतिनिधिलाई आमन्त्रण गरिएको छ।
समितिका सदस्य सुनिता बरालका अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई निमन्त्रणा गरिएको भए पनि कांग्रेसबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्का उद्घाटन समारोहमा सहभागी हुनेछन्। खड्काको सचिवालयले यसबारे पुष्टि गरेको छ।
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि आमन्त्रण गरिएको थियो। तर, उनी सुर्खेतमा हुने पार्टीको एकता सन्देश सभामा सहभागी हुनुपर्ने भएकाले एमाले महाधिवेशनको उद्घाटनमा नेता देव गुरुङ उपस्थित हुने भएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट महामन्त्री कविन्द्र बुर्लाकोटी सहभागी हुनेछन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम छ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई पनि आमन्त्रण गरिएको भए पनि उनले अनुपस्थित रहने जानकारी गराएका छन्। जनमत पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई समेत निमन्त्रणा गरिएको छ। जनमत पार्टीका अध्यक्ष सिके राउत भने काठमाडौं बाहिर रहेकाले सन्देश पठाएका छन्।
त्यसैगरी उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल बार एसोसिएसन, नेपाल उद्योग परिसंघलगायत ६ वटा सामाजिक संस्थाका प्रतिनिधि पनि सहभागी हुने अतिथि सत्कार समितिले जनाएको छ।