काठमाडौँ उपत्यकामा चिसो बढ्दो, न्यूनतम तापक्रम झरेर ५ डिग्रीमा

  • प्रकाशित मिति : २०८२ मंसिर २८, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम घटेर ५.० डिग्री सेल्सियसमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) बिहान ८:४५ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस मापन गरिएको हो ।

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस रहेको थियो । मंसिर १९ गते ८.६ डिग्री सेल्सियस रहेको तापक्रम क्रमशः घट्दै आज ५.० डिग्री सेल्सियसमा झरेको मौसम महाशाखाले जनाएको छ ।

केही दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा तापक्रम निरन्तर घट्दो क्रममा रहेको छ, जसका कारण चिसो बढ्दै गएको छ । मौसम महाशाखाले दैनिक रूपमा काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्दै आएको छ ।



मौसमविद्का अनुसार दिनको सबैभन्दा कम तापक्रमलाई न्यूनतम तापक्रम भनिन्छ, जुन बिहान ८:४५ बजे मापन गरिन्छ । त्यसैगरी दिनको सबैभन्दा बढी तापक्रम साँझ ५:४५ बजे मापन गरी अधिकतम तापक्रम निर्धारण गरिन्छ ।

महाशाखाले अहिलेसम्म अद्यावधिक गरेको विवरणअनुसार आज देशभर सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस २.१ डिग्री सेल्सियस मापन गरिएको छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम नेपालगन्जमा ११.६ डिग्री सेल्सियस रहेको छ ।