राष्ट्रिय सभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान स्थल तोकियो, माघ ११ गते मतदान

  • प्रकाशित मिति : २०८२ पुष २, बुधबार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ। आयोगले बुधबार सातै प्रदेशका लागि मतदान स्थल निर्धारण गरिएको जानकारी दिएको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार सातै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल तोकिएको छ। प्रत्येक मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ।



आयोगका अनुसार मतदान केन्द्र ‘क’ प्रदेश सभाका सदस्यका लागि तोकिएको छ भने मतदान केन्द्र ‘ख’ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि निर्धारण गरिएको छ। राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिका प्रमुख–उपप्रमुख रहेको निर्वाचक मण्डलले मतदान गर्ने व्यवस्था छ।

प्रदेशगत मतदान स्थल यसप्रकार छन्:

कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर, मोरङ

मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका–४, धनुषा

बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका–४, मकवानपुर

गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा, कास्की

लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ

कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत

सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली

निर्वाचन आयोगले तोकिएका मतदान स्थल र केन्द्रमा निर्धारित मितिमा मतदान गर्न सम्बन्धित सबै निर्वाचकलाई तयारी अवस्थामा रहन आग्रह गरेको छ।