सुनको भाउ तोलामा ५ हजार ५ सयले उक्लियो, नयाँ रेकर्ड कायम

  • प्रकाशित मिति : २०८२ पुष ८, मंगलवार
  • नेपाल टेल संवाददाता

मंगलबार एकैदिन सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ६७ हजार २ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै सुनको भाउले लगातार नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ।



यस्तै, चाँदीको मूल्य पनि उच्च दरमै अघि बढिरहेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले बढ्दै ४ हजार २५५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।

केही दिनयता अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्यवृद्धिको असर स्वदेशी बजारमा पनि परेकाले सुन र चाँदी दुवैको भाउ ऐतिहासिक उचाइमा पुगेको व्यवसायीहरू बताउँछन्।