आइतबार कीर्तिमान बनाएको सुनचाँदीको मूल्य ओरालो लाग्ने क्रम निरन्तर जारी छ। बिहीबार पनि सुन र चाँदी दुवैको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले घटेर २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बुधबार सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि सुनको मूल्य तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घट्दो क्रममा रहेको छ। आज चाँदी तोलामा ५५ रुपैयाँले घटेर ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार चाँदी तोलामा ३ सय ५ रुपैयाँले घटेर ४ हजार ५ सय ९० रुपैयाँ पुगेको थियो।
लगातारको गिरावटसँगै सुनचाँदी बजारमा मूल्य समायोजनको क्रम अझै जारी रहने संकेत देखिएको छ।