माघ स्नान र स्वस्थानी व्रत आजदेखि शुरु, शालिनदीमा माधवनारायण मेला

  • प्रकाशित मिति : २०८२ पुष १९, शनिबार
  • नेपाल टेल संवाददाता

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने माघ स्नान र स्वस्थानी व्रत आजदेखि विधिपूर्वक शुरु भएको छ। वैदिक सनातन धर्मावलम्बीले यस अवधिमा घरघरमा स्वस्थानी व्रत, कथा वाचन र विभिन्न शक्तिपीठमा पूजा–आराधना गर्ने परम्परा छ। सतीदेवीका अङ्ग पतन भएका स्थानमा देवीदेवताको वास रहेको धार्मिक विश्वासका आधारमा यो परम्परा सुरु भएको मानिन्छ।

स्वस्थानी व्रत पौष शुक्ल चतुर्दशीका दिन हात–गोडाका नङ काटी स्नान गरेर शुद्ध वस्त्र धारण गरी आरम्भ गरिन्छ। व्रतालुले बिहान माघ स्नान गरी मध्याह्नमा पार्वतीसहित महादेवको पूजा गर्छन् भने साँझ स्कन्द पुराणअन्तर्गत केदारखण्डको माघ माहात्म्य, कुमार र अगस्त्यबीचको संवादका रूपमा रहेको स्वस्थानी कथा सुन्ने–सुनाउने परम्परा छ। कुल परम्पराअनुसार कसैले बिहान त कसैले बेलुकी कथावाचन गर्ने चलन छ।



एक महिनासम्म विधिपूर्वक व्रत गरेपछि माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, सुपारी, पान, फूल, रोटी, अक्षता, विभिन्न फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र र भेटी चढाई व्रतको कामना पूरा होस् भनी भगवतीलाई अघ्र्य अर्पण गरिन्छ। चढाइएका प्रसादमध्ये आठ–आठ पाती पति, पति नभए छोरा, छोरा पनि नभए मीत छोरालाई दिने र त्यो पनि सम्भव नभए नजिकको पवित्र नदीमा विसर्जन गर्ने विधि छ।

पूर्णिमाको रात सय रोटी फलाहार गरी जाग्राम बस्ने तथा देवीको माहात्म्य सुन्ने–सुनाउने गरिन्छ। यसरी व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। ‘स्वस्थानी’ शब्दले आफू बसेको स्थानकी देवी भन्ने अर्थ जनाउँछ। उत्तरायणपछिको समय ध्यान–योगका लागि उपयुक्त मानिएकाले स्वस्थान अर्थात् आफ्नै आत्मासँग सम्पर्कको अभ्यासलाई स्वस्थानीसँग जोडेर व्याख्या गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईका अनुसार स्कन्द पुराणमा स्वस्थानी देवीलाई सुवर्णवर्णकी, त्रिनेत्रधारी, कमल र सिंहासनमा विराजमान, चार हात भएकी देवीका रूपमा वर्णन गरिएको छ। पहिलो हातमा नीलकमल, दोस्रोमा खड्ग, तेस्रोमा ढाल र चौथो हातमा वरदमुद्रा लिएकी देवी नै स्वस्थानी हुन्।

धार्मिक कथाअनुसार स्वस्थानी व्रतको प्रभावले बिछोड भएका जोडीको पुनर्मिलन, रोगव्याधिको निवारण र इच्छाअनुसार जीवनसाथी प्राप्त हुने विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन विष्णुको निर्देशनअनुसार स्वस्थानी व्रत गरेको, व्रतपछि नाग–नागिनीको पुनर्मिलन भएको तथा गोमा ब्राह्मणीले व्रत गर्दा पुत्र वियोगबाट मुक्ति पाएको कथाहरू स्वस्थानीमा उल्लेख छन्। व्रतकै प्रभावले उनका छोरा नवराज लावण्य देश (हालको साँखु क्षेत्र) का राजा बनेको प्रसंगसमेत पाइन्छ।

यसै अवसरमा आजदेखि काठमाडौं उपत्यकाको उत्तर–पूर्वी भेगमा रहेको साँखुस्थित शालिनदीमा एक महिनासम्म चल्ने माधवनारायण मेला पनि सुरु भएको छ। माघ महिनामा शालिनदीमा स्नान गरी माधवनारायण र श्रीस्वस्थानीको दर्शन गरेमा पाप पखालिएर पुण्य प्राप्त हुने धार्मिक विश्वासका कारण प्रत्येक वर्ष लाखौँ भक्तजन यहाँ आउने गर्छन्।

शालिनदी व्यवस्थापन समितिका अनुसार यस वर्षको माधवनारायण मेलाका लागि सम्पूर्ण तयारी पूरा भएको छ। देशका विभिन्न भागका साथै भारतबाट समेत भक्तजन शालिनदीमा माघ स्नान, माधवनारायण र श्रीस्वस्थानी दर्शनका लागि आउने गरेका छन्।