निर्वाचन आयोगले राजनीतिक दलहरूले पेस गरेका समानुपातिक उम्मेदवारहरूको बन्दसूची संशोधन हुन सक्ने अवस्था रहेको स्पष्ट गरेको छ। आयोगले प्रेस विज्ञप्ति जारी गर्दै समानुपातिक निर्वाचन प्रणालीतर्फ सूचीकृत कुनै पनि उम्मेदवारले चाहेमा आफ्नो नाम उम्मेदवारको सूचीबाट फिर्ता लिन सक्ने जनाएको हो।
आयोगका अनुसार बन्दसूचीमा रहेका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएमा त्यसको जानकारी सम्बन्धित राजनीतिक दललाई गराइनेछ। नाम फिर्ता लिँदा सूचीमा रिक्त स्थान सिर्जना भएमा सोही समूहबाट अर्को उम्मेदवारको मनोनयन गर्न सकिने व्यवस्था रहेको आयोगले जनाएको छ।
प्रतिनिधि सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा २० अनुसार उम्मेदवारको बन्दसूची जाँचबुझ गरिने आयोगले स्पष्ट पारेको छ। सो क्रममा सूची समानुपातिक प्रतिनिधित्व र समावेशी सिद्धान्तअनुसार तयार भए–नभएको तथा कानुनी रीत पुगे–नपुगेको यकिन गरिनेछ। यदि सूचीमा त्रुटि वा रीत नपुगेको पाइएमा आयोगले सम्बन्धित दललाई सच्याउन जानकारी गराउने जनाएको छ।
आयोगका अनुसार गत पुस १३ र १४ गते राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने कार्यक्रम तय गरिएको थियो। सो अवधिभित्र ६४ वटा राजनीतिक दलले बन्दसूची पेस गरेका छन्।
तीमध्ये ५४ वटा राजनीतिक दलले आ–आफ्नै निर्वाचन चिह्नमार्फत निर्वाचनमा सहभागी हुने गरी बन्दसूची पेस गरेका छन् भने १० वटा राजनीतिक दलले चारवटा एकल निर्वाचन चिह्न प्रयोग गरी निर्वाचनमा भाग लिने गरी सूची बुझाएका छन्।