पदाधिकारी नपाएपछि रास्वपा गएनन् सुदन, गोरखाबाट चुनाव लड्दैछन् ?

  • प्रकाशित मिति : २०८२ पुष २३, बुधबार
  • नेपाल टेल संवाददाता

जेनजी आन्दोलनपछि उदाएका युवा सुदन गुरुङले रास्वपा र उज्यालो पार्टीबीच भङ्‍ग भइसकेको एकता प्रक्रियालाई जोड्न अहम् भूमिका खेले । उनकै जबरजस्तीमा रवि लामिछाने, कुलमान घिसिङ र बालेन्द्र साहबीच निर्णायक वार्ता भएको बताइन्छ ।

तीन शक्ति एक भइसकेपछि गुरुङ स्वयम् भने बाहिरै बसेका छन् । उनी एकतामा गएनन् । यद्यपि, सुदनको टिमबाट चारजना रास्वपा केन्द्रीय सदस्य बनेका छन् । उनले नेतृत्व गरेको द काउन्सील अफ जेनजीका चार प्रदेश संयोजकहरुले रास्वपाको केन्द्रीय समितिमा स्थान पाएका हुन् ।



जसमा, मधेश संयोजक शिव यादव, गण्डकी संयोजक प्रदीप पाण्डे, लुम्बिनी संयोजक आदित्य आचार्य र सुदूरपश्चिम संयोजक खेमराज साउँद छन् । उनीहरुलाई बालेनको कोटाबाट केन्द्रीय कमिटीमा ल्याइएको हो ।

सुदन स्वयम् भने रास्वपाको केन्द्रीय समितिमा बस्न चाहेनन् । रास्वपाले प्रस्ताव गरे तापनि उनले नकारेका हुन् । स्रोतका अनुसार उनी पदाधिकारीका आकांक्षी थिए । त्यो प्राप्त नहुने भएपछि उनले अहिले पार्टीमा नलाग्ने निर्णय लिएका हुन् ।

सुदन आगामी आमनिर्वाचनमा उम्मेदवारी दिने मनस्थितिमा रहेको निकट स्रोतले बतायो । उनले आफ्नो गृहजिल्ला गोरखाको क्षेत्र नम्बर १ बाट लड्न होमवर्क गरिरहेका छन्, तर निधो भइसकेको छैन । यदि चुनाव लड्ने भएमा रास्वपाबाटै वा रास्वपाको समर्थनमा लड्न सक्ने बुझिएको छ ।

काउन्सील अफ जेनजीका कोशी प्रदेश संयोजक उपार्जुन चाम्लिङ राई पनि केन्द्रीय सदस्यमा अफर गरिएको थियो । उनले पनि अस्वीकार गरे ।

उपार्जनले भने, ‘जेनजी आन्दोलनमा जानुको उद्देश्य कुनै पदका लागि थिएन । एक थान केन्द्रीय सदस्यकै लागि मात्रै लडिएको होइन । नयाँ शक्तिहरु एकजुट भएकोमा खुशी छौं, तर पार्टीको दिशा स्पष्ट हुन बाँकी छ ।’

अर्की चर्चित जेनजी अगुवा रक्षा बम पनि एकता प्रक्रियामा सामेल भइनन् । बालेनले आफैं पार्टी खोल्न सुरसार गर्दा रक्षा उनलाई भेट्न पुगेकी थिइन् । बालेनलाई साथ दिन तयार भएकी थिइन् । तर बालेन आफैं रास्वपासँग मिलेपछि उनी पछि हटिन् ।

रास्वपा र बालेनले उनलाई केन्द्रीय सदस्य बन्न प्रस्ताव गरेका थिए । समानुपातिकमा बस्न पनि अफर थियो । तर, उनले अस्वीकार गरेको बुझिएको छ । रक्षाले आफैं जेनजी फ्रन्ट नामक संगठन बनाएर त्यसको नेतृत्व गरिरहेकी छन् । उनी प्रत्यक्षमा चुनाव लड्ने तयारीमा पनि थिइन् । तर, पछिल्लो समय भने उनले नलड्ने मनस्थिति बनाएको बुझिएको छ ।