लन्डन। बेलायतको मिडल्यान्डस्थित साझा नेपाली समाज यूकेमा नेतृत्व चयनको विषयमा विवाद उत्पन्न भएको छ। ५ जनवरीमा वुल्भरह्याम्प्टनमा सम्पन्न अधिवेशनले नारायण फुंयालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरे पनि उपाध्यक्ष पदको विवादले संस्था भित्रै असन्तोष सिर्जना गरेको छ।
सहमतिका आधारमा वरिष्ठ उपाध्यक्ष बन्ने अपेक्षामा रहेका शिव खरालले कार्यसमिति घोषणा गर्दा आफूलाई उपाध्यक्ष मात्रै तोकिएको भन्दै राजीनामा दिएका छन्। उनले राजीनामा पत्रमा संस्थामा बेथिती र पारदर्शिता अभावको आरोप लगाएका छन्।
श्रृजनशील लेष्टर नेपाल, यूके पनि संस्थाबाट बाहिर जाने निर्णयमा पुगेको छ। यसले अध्यक्ष पदका लागि सिफारिस गरेका उम्मेदवारहरू कार्यसमितिमा समावेश नहुञ्जेल समाजबाट बहिष्कृत हुने घोषणा गरेको हो। अन्य स्थानीय संस्थाहरू पनि असन्तुष्ट रहेको र बाहिरिने छलफलमा छन्।
नवनिर्वाचित अध्यक्ष नारायण फुंयालले विवाद समाधानका लागि कार्यसमिति बैठक बस्ने योजना राखेका छन्। तर, खरालले भने वरिष्ठ उपाध्यक्षको पदमा पुन: नियुक्ति स्वीकार नगर्ने बताएका छन्।
साझा नेपाली समाज यूकेमा असन्तुष्टि र विवादको मुख्य कारण संस्थागत निर्णय प्रक्रियामा सीमित व्यक्तिहरूको प्रभुत्व रहेको र संस्थाको मूल उद्देश्यसँग विचलन भएको हो।