२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा साढे २३ करोड रुपैयाँभन्दा बढी बराबरका नोट जलेर नष्ट भएको पाइएको छ। आन्दोलनका कारण कुल नगद क्षति साढे ७८ करोड रुपैयाँ पुगेको भए पनि आगजनीबाट जलेर नष्ट भएको रकम २३ करोड ६९ लाख रुपैयाँ रहेको छ।
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले गठन गरेको क्षति मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयारी समितिले तयार पारेको २०८२ को प्रतिवेदनअनुसार नगद तथा बहुमूल्य वस्तु वा सम्पत्तिमा पुगेको कुल क्षति २ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ पुगेको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार चोरीका कारण ३२ करोड ८१ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने तोडफोडका कारण नगदमा २२ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ। कुल क्षतिमध्ये चोरीबाट ५७.५ प्रतिशत, तोडफोडबाट ११.६ प्रतिशत र आगजनीबाट ३०.९ प्रतिशत क्षति भएको देखिन्छ।
सुन, चाँदी, हिरा, मोतीजस्ता बहुमूल्य धातुमा पनि ठूलो क्षति पुगेको छ। चोरीका कारण यस्ता बहुमूल्य धातुमा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ। आगजनीबाट १३ करोड ११ लाख र तोडफोडबाट ९३ लाख रुपैयाँ बराबरको क्षति पुगेको छ।
निजी प्रतिष्ठानसँग रहेको नगद मौज्दात तथा सुनचाँदीलगायत बहुमूल्य वस्तुमा ५६ करोड १८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। यो निजी प्रतिष्ठानहरूले बेहोरेको कुल क्षतिको २.६ प्रतिशत हो। नगद तथा बहुमूल्य वस्तुमा पुगेको क्षति मुख्यतः चोरी र आगजनीका कारण भएको देखिन्छ।
कुल क्षतिमा सबैभन्दा ठूलो हिस्सा अन्य बहुमूल्य वस्तुको रहेको छ, जुन ६३.२ प्रतिशत छ। नगदतर्फ भएको २० करोड ३९ लाख रुपैयाँ क्षतिमध्ये ६७.९ प्रतिशत आगजनीबाट र २०.६९ प्रतिशत चोरीबाट भएको प्रतिवेदनमा उल्लेख छ।
घरपरिवारको नगद तथा बहुमूल्य वस्तुमा भएको क्षतिमा सबैभन्दा बढी सुन, चाँदी, हिरा र मोतीमा ७५ करोड ३१ लाख रुपैयाँ बराबरको क्षति भएको छ। नगदमा १२ करोड ६५ लाख र अन्य बहुमूल्य वस्तुमा ७ करोड ५८ लाख रुपैयाँ क्षति पुगेको छ। क्षतिको कारणका आधारमा हेर्दा चोरीबाट ७३ करोड ४३ लाख, आगजनीबाट १७ करोड ६ लाख र तोडफोडबाट ५ करोड ४ लाख रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनले देखाएको छ।