समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु, ५८ वटा चिह्न रहने

  • प्रकाशित मिति : २०८२ पुष २५, शुक्रबार
  • नेपाल टेल संवाददाता

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ आजदेखि सुरु गरेको छ ।

समानुपातिकतर्फको मतपत्रमा बन्दसूची पेश गर्ने ६४ दलका जम्मा ५८ चुनाव चिह्न रहेको आयोगले जनाएको छ ।



मतदाता सङ्‍ख्याको आधारमा समानुपातिकतर्फ सरदर २ करोड थान मतपत्र छपाइ गरिने आयोगका सहसचिव एवम प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा बताए ।

उनका अनुसार नमूना मतपत्र छपाइ सम्पन्न गरी मतदाता नामावली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरिएको हो ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतदाता शिक्षा प्रयोजनका लागि प्रत्यक्ष र समानुपातिकतर्फको जम्मा १० लाख नमुना मतपत्र छपाइ सम्पन्न भएको प्रवक्ता भट्टराईको भनाइ छ ।

नमुना मतपत्र समानुपातिक निर्वाचन प्रणालीतर्फ सेतो कागजमा कालो रङ्गको र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ सेतो कागजमा रातो रङ्गको रहेको छ ।

हालसम्म २६ जिल्लाको मतदाता नामावली छपाइ सम्पन्न भएको आयोगले जनाएको छ ।