नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले निर्वाचन तालिका सार्वजनिक गर्दै मनोनयन आह्वान गरेको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले आज केहीबेरअघि सूचना जारी गरी विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्न आह्वान गरेका हुन्। यससँगै समितिले महाधिवेशन प्रतिनिधिको मतदाता नामावलीसमेत सार्वजनिक गरेको छ।
कांग्रेसमा कुल महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ७ सय ४३ रहेकोमा पार्टी परित्याग गरेका ६१ जना र निधन भएका ४४ जना प्रतिनिधि घटेपछि हाल सक्रिय महाधिवेशन प्रतिनिधिको संख्या ४ हजार ६ सय ३८ पुगेको निर्वाचन समितिले जनाएको छ।
यसैबीच विशेष महाधिवेशन मूल आयोजक समितिका संयोजक मनोजमणि आचार्यले महाधिवेशनमा एकसाथ तीनवटा प्रक्रिया अघि बढिरहेको बताएका छन्। उनका अनुसार बन्दसत्र जारी छ, आन्तरिक वार्ता–संवाद चलिरहेको छ र निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै निर्वाचन प्रक्रिया पनि अघि बढेको छ।
‘संवाद सकारात्मक निष्कर्षमा पुगे राम्रो हुन्छ,’ आचार्यले भने, ‘यदि सहमति भएन भने निर्वाचनमार्फत नयाँ कार्यसमिति चयन हुनेछ।’