कांग्रेस महाधिवेशन: खर्च र मेन्यु दुवै चर्चामा, करिब ५ करोड खर्च, हल भाडामै १२ लाख

ब्रेकफास्टदेखि डिनरसम्म के खुवाइयो?

  • प्रकाशित मिति : २०८२ पुष ३०, बुधबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा भएको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा आइतबारदेखि जारी छ । आयोजकले महाधिवेशनस्थलको भाडामा मात्रै १२ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हल, ठूलो चौर, बगैँचा, मूल गेट नजिकको चौर र हल पछाडिको चौर प्रयोग गरेबापत उक्त रकम तिरिएको हो । समाज कल्याण परिषद् भृकुटीमण्डप व्यवस्थापन विभागका प्रमुख खगनाथ रेग्मीका अनुसार सुरुमा आयोजकबाट १ लाख ५७ हजार रुपैयाँ पेश्की बुझाइएको थियो । त्यसपछि मंगलबार थप ११ लाख रुपैयाँ भुक्तानी भएको उनले बताए ।



‘उहाँहरूले सुरुमा २७ र २८ गतेका लागि मात्रै हल माग्नुभएको थियो । तर कार्यक्रम मंगलबारसम्म लम्बिएकाले सोहीअनुसार मंगलबारसम्मको १२ लाख ४० हजार रुपैयाँको बिल काटिएको हो,’ रेग्मीले भने ।

कांग्रेस दोस्रो विशेष महाधिवेशन सचिवालयका तर्फबाट मनोजमणि आचार्यले पुस २५ गते प्रदर्शनी हल उपलब्ध गराइदिन निवेदनसहित १ लाख ५७ हजार रुपैयाँ धरौटी बुझाएका थिए । उनका अनुसार पुस २७ र २८ गतेका लागि प्रदर्शनी हल, पुस २६ देखि २८ गतेसम्म ठूलो चौर, २८ गते बगैचा, पुस २७ देखि मूल गेट नजिकको चौर र २७ तथा २८ गते हल पछाडिको चौर बुक गरिएको थियो ।

भृकुटीमण्डप व्यवस्थापन विभागले दिएको हिसाबअनुसार प्रदर्शनी हलको प्रतिदिन २ लाख ५० हजार रुपैयाँका दरले ३ दिनको ७ लाख ५० हजार, ठूलो चौरको प्रतिदिन ७५ हजारका दरले ३ दिनको २ लाख २५ हजार, बगैँचाको २ दिनको १ लाख ५० हजार, मूल गेट नजिकको सानो चौरको ३ दिनको ९० हजार र पार्किङ पछाडिको हलको २५ हजार रुपैयाँ लिइएको छ ।

कार्यक्रम बुधबारसम्म लम्बिएकाले थप एक दिनको भाडा पनि जोडिने छ ।

खाना–खाजामा तीन दिनमै साढे ४ देखि ५ करोड खर्च

विशेष महाधिवेशनमा आएका प्रतिनिधि मात्र होइन, अन्य कार्यकर्ता र समर्थकलाई समेत खाजा, लन्च र डिनर उपलब्ध गराउँदा ठूलो रकम खर्च भएको छ । आयोजकले काठमाडौँको महाराजगञ्जस्थित अडिकल इभेन्ट्स होटलमार्फत क्याटरिङ सेवा लिएको छ ।

क्याटरिङ व्यवस्थापनमा संलग्न एक अधिकारीका अनुसार एक दिनमै करिब ८ हजार जनाले खाना खाएका थिए । पुस २७ गते दिनको लन्च १६० जनाले लिएका थिए भने सोही दिन राति करिब ५ हजार जनाले डिनर गरेका थिए ।

त्यो रात डिनरमा नान, मटन, कश्मीरी पुलाउ, दाल तड्का, मिक्स भेज सबनम करी, साग, दुई प्रकारका अचार र डिजर्टमा गाजरको हलुवा तथा दही–जेरी राखिएको थियो ।

पुस २८ गते बिहान करिब ७ हजार जनाले ब्रेकफास्ट लिएका थिए । ब्रेकफास्टमा उसिनेको अण्डा, चना, जेरी–स्वारी, पूरी–तरकारी, विभिन्न कुकिज र चिया दिइएको थियो ।

त्यस दिन ५ हजारले लन्च गर्ने अनुमान गरिएको भए पनि करिब ८ हजार जनाले लन्च लिएको उनले बताए । २७ गते रातिको डिनरकै परिकार २८ गतेको लन्चमा पनि सर्भ गरिएको थियो । २८ गते राति भने करिब २ हजार ५ सय जनाले मात्र डिनर गरेका थिए । उक्त रात मटनको साटो चिकेन परिकार राखिएको थियो ।

पुस २९ गते बिहान करिब ५ हजार जनाले ब्रेकफास्ट र ५ हजारभन्दा बढीले लन्च लिएको उनले बताए । उक्त दिनको लन्चमा चिकेन परिकार सर्भ गरिएको थियो ।

उनका अनुसार ब्रेकफास्टदेखि डिनरसम्मको प्याकेज प्रतिव्यक्ति कम्तीमा २३ सयदेखि २५ सय रुपैयाँसम्म पर्छ । ‘कति दरमा सम्झौता भयो भन्ने कुरा होटल सञ्चालकलाई मात्रै थाहा होला । होटल सञ्चालक पनि कांग्रेसकै कार्यकर्ता भएकाले छुटमा दिएको हुनसक्छ,’ उनले भने ।

तीन दिनमा दैनिक ८ हजारका दरले करिब २४ हजार जनाले खाना खाँदा, २० हजार जनाको मात्रै हिसाब गर्दा पनि २३ सय रुपैयाँका दरले करिब ४ करोड ६० लाख रुपैयाँ खर्च हुन्छ । २४ हजार जनाको हिसाब गर्दा खर्च ५ करोड ५२ लाख रुपैयाँ पुग्ने देखिन्छ ।

कार्यक्रम बुधबारसम्म चल्ने भएकाले खर्च अझै बढ्ने सम्भावना छ ।