हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार रुकुम पूर्वमा माओवादी सशस्त्र युद्ध लडेको क्षेत्रको अवलोकन गरेका छन् ।
उनले जनयुद्धका बेला रुकुमकोट प्रहरी चौकी कब्जा गरिएको स्थानको अवलोकन गरेका हुन् । जहाँ हाल युद्ध संग्रहालय निर्माण गरिएको छ। सो अवसरमा संयोजक प्रचण्डले उक्त स्थललाई अझ व्यवस्थित बनाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्ड । तस्बिर : सर्जना कार्की
संयोजक प्रचण्डले रुकुम पूर्वका विभिन्न स्थानमा घरदैलो अभियानको पनि सुरुवात गरेका छन्। घरदैलोका क्रममा उनले शहीद सीता घर्तीमगरकी आमा, सहिद जीवन काजीकी आमा लगायत विभिन्न सहिद परिवारका सदस्यसँग भेटघाट गरेका छन् । शहीद परिवारसँगको भेटमा उनले शहीदहरूको सपना आफूले नबिर्सिएको बताउँदै उनीहरुको सम्मानमा राज्यस्तरबाट कामको थालनि भएको र अझै बढि अधिकार स्थापित गर्न आफू सक्रिय रहेको बताएका छन् ।
बुधबार बिहान घरदैलो अभियानका क्रममा उनले रुकुम पूर्वका पुराना कम्युनिष्ट नेता, कार्यकर्ता तथा स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै नेपाली कम्युनिष्ट पार्टीलाई मतदान गर्न अपिल गरेका छन् ।