गगनका लागि काठमाडौंबाट सर्लाही-४ : रणनीतिक जोखिम कि मधेस केन्द्रित राजनीतिक सन्देश ?

  • प्रकाशित मिति : २०८२ माघ ९, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेपाली कांग्रेसका सभापति गगन थापाले सधैं जित्दै आएको र आफ्नै राजनीतिक आधारभूमिका रूपमा विकास गरेको काठमाडौं-४ परित्याग गर्दै सर्लाही-४ बाट उम्मेदवारी दिएपछि राष्ट्रिय राजनीति नयाँ बहसको केन्द्रमा पुगेको छ। यो निर्णय केवल निर्वाचन क्षेत्र परिवर्तन मात्र होइन, बदलिँदो राजनीतिक परिवेशमा थापाको रणनीति, जोखिम र सन्देशसँग जोडिएको विषय बनेको छ।

किन सर्लाही–४ ?
गगन थापा २०७९ को निर्वाचनमा पनि सर्लाहीबाट उम्मेदवारी दिने चर्चामा थिए। तर अन्ततः उनले काठमाडौंमै अडिनु उपयुक्त ठाने। यसपटक भने उनले आफ्नो पकड क्षेत्र काठमाडौं–४ युवा उम्मेदवार सचिन तिमल्सेनालाई छाडेर मधेसको सर्लाही–४ रोजेका छन्। जेन–जी आन्दोलनपछिको तरल राजनीतिक अवस्थामा थापाको यो निर्णयलाई कसैले चुनौती स्वीकार गर्ने साहसी कदम भनेका छन् भने कसैले काठमाडौं असुरक्षित देखिएपछि सुरक्षित क्षेत्र खोज्दै मधेस झरेको टिप्पणी गरेका छन्।



प्रतिस्पर्धा कस्तो छ ?
सर्लाही–४ को चुनावी मैदान सजिलो छैन। गगनसँगै यसअघि दुई पटक कांग्रेसबाट र एक पटक स्वतन्त्र उम्मेदवारी दिएर जितेका अमेरशकुमार सिंह यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मैदानमा छन्। एमालेबाट रविसिंह कुशवाहा, नेकपाबाट डा. रगनिस राय यादव र जसपा नेपालबाट रामेश्वरराय यादव प्रतिस्पर्धी छन्। यसले चुनावलाई बहुकोणीय र अनिश्चित बनाएको छ।

सर्लाही-४ को राजनीतिक इतिहास
सर्लाही–४ कांग्रेसको परम्परागत गढ मानिन्छ। २०४८ देखि २०५६ सम्म लगातार तीन निर्वाचन जितेका महन्थ ठाकुर कांग्रेसबाट अलग भएपछि यो क्षेत्रमा अमरेशकुमार सिंहको उदय भयो। सिंहले २०७० र २०७४ मा कांग्रेसबाट जिते भने २०७९ मा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भए।

२०७९ को निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनका तर्फबाट नागेन्द्रकुमार उम्मेदवार बने पनि सिंहले २० हजार १७ मत ल्याएर जित हात पारे। गठबन्धन हुँदाहुँदै माओवादीका शिवपुजन रायले छोरीलाई स्वतन्त्र उठाउँदा मत विभाजन भएको थियो, जसको प्रत्यक्ष असर कांग्रेसलाई परेको देखिन्छ।

स्थानीय शक्ति सन्तुलन
स्थानीय तहको परिणाम हेर्दा सर्लाही-४ पूर्ण रूपमा कुनै एक दलको कब्जामा छैन। यो क्षेत्रमा पर्ने ५१ वडामध्ये कांग्रेसले सबैभन्दा धेरै १९ वडा जितेको छ। माओवादी केन्द्रले १२, एमालेले १०, लोसपाले ८ र जसपाले २ वडा जितेका छन्। वडाध्यक्षहरूले पाएको कुल मतमा पनि कांग्रेस अगाडि देखिन्छ।

तर प्रतिनिधिसभा निर्वाचनको समानुपातिक मतले फरक चित्र देखाउँछ। स्थानीय तहमा कमजोर देखिएको जनमत पार्टीले समानुपातिकतर्फ १२ हजार ५ सय मत ल्याउनु, लोसपा र माओवादीको मत घट्नु तथा कांग्रेसकै मत २३ हजारबाट १६ हजारमा झर्नु यस क्षेत्रको मतदाताको व्यवहार अस्थिर र तरल रहेको संकेत हो।

अवसर र जोखिम
गगन थापाका लागि सर्लाही–४ अवसर र जोखिम दुवै हो। कांग्रेसको संगठनात्मक आधार, वडास्तरको प्रभाव र परम्परागत मत बैंक उनको पक्षमा छन्। तर, अमेरशकुमार सिंहको व्यक्तिगत प्रभाव, रास्वपाको नयाँपन, जनमत पार्टीको उभार र बहुकोणीय प्रतिस्पर्धाले चुनावलाई सजिलो बनाउँदैन।

काठमाडौं-४ छाडेर सर्लाही-४ पुग्नु गगन थापाको राजनीतिक यात्राको सबैभन्दा साहसी निर्णयमध्ये एक मान्न सकिन्छ। यो कदमले उनी मधेसमा कांग्रेसको नेतृत्व स्थापित गर्न खोजिरहेका छन् भन्ने सन्देश पनि दिन्छ। तर, परिणामले मात्र यो निर्णय रणनीतिक सफलता थियो कि राजनीतिक जोखिम भन्ने कुराको अन्तिम उत्तर दिनेछ।