वरिष्ठ कलाकार सुनिल थापाको अन्त्येष्टि भोलि मात्रै हुने भएको छ। मुम्बईबाट थापाको परिवार आउन ढिलाई भएकाले भोलि मात्र अन्त्येष्टि हुने भएको हो ।
आज बिहान नर्भिक अस्पतालमा हृदयघातका कारण थापाको निधन भएको थियो । उनको निधन लगत्तै थापाकी श्रीमती रजनी लिम्बु, एक छोरा र एक छोरी मुम्बाईबाट नेपाल आउने तयारीमा लागेका थिए ।
तर, सिधै काठमाडौंसम्मको फ्लाइट नपाएपछि सिलगुडीसम्म फ्लाइटमा आएको थापा निकट एक चलचित्रकर्मीले बताए । सिलगुडीबाट भद्रपुरसम्म गाडीमा आएर भद्रपुरबाट केही समयअघि काठमाडौं उडेको उनले बताए ।
भोलि चलचित्र विकास बोर्डमा अन्तिम श्रद्धाञ्जलीका लागि राखेर अन्त्येष्टि गरिने कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताए । उनले भने, ‘उहाँको (थापाको) परिवार आइपुग्नुभएपछि थप छलफल गरेर निर्णय गर्छौं ।’