शेरबहादुर देउवा चुनावी प्रचारप्रसारमा जान लागेका हुन् ?

  • प्रकाशित मिति : २०८२ माघ २६, सोमबार
  • नेपाल टेल संवाददाता

प्रतिनिधि सभा नजिकिँदै गर्दा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पार्टीका उम्मेदवारहरूलाई हौसला बढाउन कुनै पनि कार्यक्रममा उपस्थित भएका छैनन्।

उनी फागुन २१ गते हुने चुनाव अगाडि प्रचारप्रसारका कार्यक्रममा जाने/नजाने कुनै निर्णय गरेका छैनन् । देउवाका स्वकीय सचिव भानु देउवाले चुनावी प्रचारप्रसारका कार्यक्रममा जाने/नजाने कुनै निर्णय नभएको जानकारी दिए ।



स्वकीय सचिव देउवाले भने, ‘अहिलेसम्म प्रचारप्रसारका कार्यक्रममा जाने नजाने कुनै निर्णय गर्नुभएको छैन ।’

गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसको नयाँ कार्यसमिति आएको थियो। त्यो कार्यसमितिलाई देउवा उनको समूह र अर्का नेता डाक्टर शेखर कोइराला नेतृत्वको समूहले स्वीकारेको छैन ।

विशेष महाधिवेशन विरुद्ध दुवै समूहका नेताहरू निर्वाचन आयोगमा पुगेका थिए। निर्वाचन आयोगले उनीहरूको निवेदनलाई नहेरे थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनलाई आधिकारिकता दिएको थियो। आयोगको त्यो निर्णय विरुद्ध देउवा र डाक्टर कोइराला समूह सर्वोच्च अदालत गएको छ।

सर्वोच्चमा आफूहरूले दायर गरेको रिटको छिनोफानो नहुँदासम्म देउवाले प्रचारप्रसारका कार्यक्रममा जाने नजाने विषयमा कुनै निर्णय नगर्ने सहयोगी भानुले जानकारी दिए ।उनले भने,’हामी पार्टीको आन्तरिक विषयमा सर्वोच्च अदालतमा गएका छौँ, अदालतले फैसला दिएपछि मात्रै चुनाव प्रचारप्रसारमा जाने नजाने निर्णय हुन्छ।’